नेपालमै गाडी बनाउने उद्योगको संख्या बढिरहेको छ । करीब तीन दर्जन उद्योग दर्ता भएका छन् । तर, ती सबै सञ्चालनमा आइसकेका छैनन् । बाहिरी मुलुकबाट सवारीसाधनका पार्टपुर्जा ल्याएर देशभित्रै जोडजाड गरेर विक्री गर्ने प्लान्टलाई एसेम्बल उद्योगका रूपमा परिभाषित गरिएको छ । यस्ता उद्योगलाई प्रोत्साहित गर्न सरकारले करमा मात्रै ४० प्रतिशत छूटको व्यवस्था गरेको छ ।
एसेम्बलीतर्फ उन्मुख उद्योगमध्ये पछिल्लो समय २०८१ सालमा नेपालको लक्ष्मी ग्रूप र दक्षिण कोरियाको हुन्डाई कर्पोरेशनको सहकार्यमा मुलुककै पहिलो चारपांग्रे सवारीसाधन एसेम्बली प्लान्ट सञ्चालनमा आएको छ । नवलपरासीको रामग्राममा रहेको उक्त प्लान्टमा हुन्डाईको भेन्यु उत्पादन भइरहेको छ ।
त्यसैगरी, कोशी एनके मोटर्सले चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा देशभित्रै विद्युतीय चारपांग्रे उत्पादन गर्ने तयारी गरेको छ । दुई कम्पनीबीच वैशाख १७ गते सम्झौता भएको थियो । एनके मोटर्सले विराटनगरसँग सीमा जोडिएको बूढीगंगा गाउँपालिकामा १५ बिघा जमीनमा उद्योगको नक्सा पास गरेको छ भने असोजदेखि भवन निर्माण शुरू हुने र १ वर्षभित्रमै उद्योग सञ्चालनमा आउने एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।
चारपांग्रे उत्पादनमा पहल भइराख्दा दुईपांग्रे सवारीसाधन एसेम्बलिङमा भने नेपाल धेरै अघि बढिसकेको छ । दुईपांग्रे र तीनपांग्रे सवारीसाधन एसेम्बल गर्ने सातओटा प्लान्ट देशका विभिन्न भागमा सञ्चालनमा छन् ।
गोल्छा ग्रूपले २०७५ सालदेखि रूपन्देहीको हुलास अटोक्राफ्ट प्लान्टमा बजाज टू ह्विलर एसेम्बल गर्दै आएको छ । त्यसयता मोटरसाइकल र चारपांग्रेका गरी आठओटा एसेम्बल प्लान्ट सञ्चालनमा आएका छन् । २०७५ देखि २०८१ सालको हालसम्म नेपाली बजारमा उपलब्ध सबै प्रमुख दुईपांग्रे ब्रान्डले आफ्नै एसेम्बलिङ प्लान्ट स्थापना गरिसकेका छन् । यो सूचीमा थपिएको पछिल्लो ब्रान्ड हो– हिरो मोटरसाइकल, जसले नवलपरासीमा प्लान्ट स्थापना गरेको छ ।
नेपालमा हाल बजाज, टीभीएस, सुजुकी, यामाहा, होन्डा, हिरो र रोयल इनफिल्ड ब्रान्डका दुईपांग्रे उत्पादन गर्ने सातओटा एसेम्बली प्लान्ट सञ्चालनमा छन् । यी सबै ब्रान्डका दुईपांग्रे सवारीसाधन नेपालमै यस उद्देश्यका लागि आयात गरिएका पार्टपुर्जा प्रयोग गरी एसेम्बल गरिएका हुन् । अन्त:शुल्क र भन्सार छूटजस्ता सरकारी नीतिले मुख्यतया अटोमोबाइल एसेम्बली प्लान्टको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको छ । यो रणनीतिक नीतिगत कदमले विशेष गरी अटोमोबाइल क्षेत्रमा विभिन्न सवारी ब्रान्डका आधिकारिक वितरकका रूपमा रहेका स्वदेशी व्यावसायिक घरानालाई यस्ता प्लान्टमा लगानी गर्न प्रोत्साहित गर्यो । दुईपांग्रे सवारीसाधनलगायतको विक्रीमा चुनौती हुँदाहुँदै पनि आधिकारिक डिलरसिप भएका नेपाली व्यावसायिक घरानाहरू एसेम्बली प्लान्टमा लगानी गर्न अग्रसर देखिएका छन् ।
र, यी एसेम्बली प्लान्टको प्रभाव अहिले देखिन थालेको छ । चालू आर्थिक वर्ष (आव) मा एसेम्बल नगरिएका मोटरसाइकलको आयात पूर्णरूपमा एसेम्बल गरिएको भन्दा बढी भएको छ । धेरै दुईपांग्रे वितरकले आआफ्नो ब्रान्डका एसेम्बल प्लान्ट स्थापना गरेकाले चालू आवमा पूर्ण रूपमा एसेम्बल भएका मोटरसाइकल र स्कूटरको आयातमा उल्लेखनीय गिरावट आएको देखिन्छ ।
२०७४ सालमा भएको गोल्छा समूहको सहायक कम्पनी हुलास अटो क्राफ्टको उद्घाटन नेपाली एसेम्बली उद्योगका लागि कोसेढुंगा सावित भएको छ । ७० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापित हुलास अटो क्राफ्टको प्लान्टबाट शुरूमा बजाज डिस्कभर १२५ सीसी मोटरसाइकल उत्पादन गरिएको थियो ।
त्यसो त नेपालमा एसेम्बली प्लान्टको इतिहास झन्डै २ दशक पुरानो छ । नेपाली कम्पनीहरूले सन् २००० को शुरुआतबाट नेपालमा चिनियाँ दुईपांग्रे सवारीसाधन एसेम्बल गर्न थालेका थिए । एसओआई समूहले चिनियाँ ब्रान्ड यिङयाङसँग मिलेर २०६१ सालमा नेपालमा एक एसेम्बली प्लान्ट स्थापना गरेको थियो ।
प्लान्टमा उत्पादित दुईपांग्रे सवारीसाधनलाई नेपाली बजारमा कस्मिक यिङयाङ नामले विक्री वितरण गरिएको थियो । अन्नपूर्ण लिफान कम्पनी प्रालि नामको अर्को नेपाल–चीन संयुक्त उपक्रमले सन् २००५ मा नेपालमा दुईपांग्रे सवारी एसेम्बल गर्न थालेको थियो । यसले आफ्ना उत्पादनहरू अन्ना लिफानका रूपमा ब्रान्डिङ गरी बजारमा ल्याएको थियो ।
प्रारम्भिक आकर्षण हुँदाहुँदै दुवै चिनियाँ दुईपांग्रे सवारीसाधन एसेम्बली प्लान्ट बन्द भए । यसअघि गोल्छा परिवारकै हुलास मोटर्सले नेपाली बजारमा चारपांग्रे सवारीसाधन एसेम्बलिङमा हात हालेको थियो । २०५७ सालमा स्थापना भएदेखि नै सुरेन्द्र गोल्छाको स्वामित्वमा रहेको उक्त कम्पनीले शेर्पा, मुस्ताङ र मिनी भी गरी तीनओटा मोडलका चारपांग्रे सवारीसाधन उत्पादन गर्दै आएको थियो । यी सबै मोडल स्वदेशी थिए । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो निजी सवारीसाधनको रूपमा रोजेपछि मुस्ताङ मोडलले निकै चर्चा पायो । हुलास मोटर्सले यूरो ३ इमिसन स्ट्यान्डर्डमा रूपान्तरण गर्न १ वर्ष म्याद थपिदिन आग्रह गर्दा सरकारले नमानेपछि उक्त प्लान्ट बन्द गर्यो ।
गोल्छा ग्रूपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाज मोटरसाइकलको एसेम्बली प्लान्ट स्थापना गर्ने निर्णय देशभित्रै मूल्य अभिवृद्धि गर्ने सिद्धान्तबाट प्रेरित भएको बताए । गोल्छाकै पदचिह्न पछ्याउँदै अर्को व्यापारिक घराना शंकर ग्रूपले नेपालमा टीभीएस मोटरसाइकल उत्पादन गर्न सिमरामा एसेम्बली लाइन स्थापना गर्यो । उक्त प्लान्टले आव २०७७/७८ बाट टीभीएस ब्रान्डको दुईपांग्रे र तीनपांग्रे सवारीसाधन एसेम्बल गर्दै आएको छ ।
शंकर समूहको सहायक कम्पनी जगदम्बा अटो ग्रूपले टीभीएस मोटरसाइकल इन्डियाबाट पूर्ण रूपमा लकडाउन अवस्थामा ल्याई सिमरामा रहेको प्लान्टमा एसेम्बल गर्छ । यस ग्रूपले वार्षिक १ लाख थान दुईपांग्रे (मोटरसाइकल र स्कूटर) र १ हजार थान तीनपांग्रे सवारीसाधन उत्पादन गर्ने क्षमता भएको एसेम्बली प्लान्ट स्थापना गर्न २४ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।
बजाज र टीभीएसका एसेम्बली प्लान्टहरू सञ्चालनमा आएपछि अन्य अटोमोबाइल वितरकमाथि पनि एसेम्बली प्लान्ट खोल्न दबाब भयो । फलस्वरूप प्रतिस्पर्धी ब्रान्डहरूले एकपछि अर्को एसेम्बली प्लान्टमा लगानी गर्न थाले ।
विशाल ग्रूपले पर्साको विन्ध्यवासिनी गाउँपालिकामा ४६ करोड ४५ लाख रुपैयाँ लगानीमा सुजुकी एसेम्बली प्लान्ट स्थापना गरी दुईपांग्रे सवारीसाधन एसेम्बलीमा प्रवेश गर्यो । उक्त ग्रूपको सहायक कम्पनी ग्लोबल अटोमोबाइल्सले फेब्रुअरी २०२४ को तेस्रो साताबाट ट्रायल उत्पादन शुरू गरिसकेको छ । नेपाली बजारमा सुजुकीका सबै मोटरसाइकल र स्कूटर मोडलहरू सोही प्लान्टमार्फत उत्पादन गर्ने लक्ष्य राखेको छ ।
नेपालमा होन्डा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक ज्योति ग्रूपको स्याकार ट्रेडिङ कम्पनीले होन्डा एसेम्बली प्लान्ट शुरू गरेको छ । ज्योति ग्रूपको सहायक कम्पनी हिमाल मोटो नेपाल प्रालिले होन्डा मोटरसाइकल र स्कूटर एसेम्बल गरिरहेको छ । ज्योति ग्रूपले उक्त सहायक कम्पनीमा ६० करोड रुपैयाँ लगानी गरेको छ । प्लान्टको वार्षिक क्षमता २५ हजार मोटरसाइकल र ७५ हजार स्कूटर रहेको छ ।
२०२३ को जुनबाट रोयल इनफिल्डले नेपालमा मोटरसाइकल एसेम्बल गर्न थाल्यो । नेपालको त्रिवेणी समूहसँगको सहकार्यमा वीरगञ्जमा भारतीय दुईपांग्रे ब्रान्ड रोयल इनफिल्डको एसेम्बली प्लान्ट स्थापना गरिएको हो । उक्त एसेम्बली युनिटको वार्षिक क्षमता २० हजार थान छ ।
रोयल इनफिल्डले पनि स्थानीय रूपमा एसेम्बल गरिएका मोटरसाइकलको पहिलो सेट (द न्यू क्लासिक ३५ र द स्क्र्याम ४११) घरेलु बजारमा ल्याइसकेको छ । नेपालमा स्थापित यो प्लान्ट ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनापछि विश्वमै रोयल एनफिल्डको पाँचौं एसेम्बली प्लान्ट हो ।
त्यस्तै मोरङ अटो वर्कर्स (एमएडब्ल्यू) इन्टरप्राइजेजले आफ्नो सहायक कम्पनी एमएडब्ल्यू अटो प्रालिमार्फत नवलपरासीको रामग्राममा यामाहा एसेम्बली प्लान्ट स्थापना गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ । हालै सञ्चालनमा आएको प्लान्टले वार्षिक ३१ हजार थान मोटरसाइकल र १० हजार स्कुटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।
प्रारम्भिक चरणमा एसेम्बली प्लान्ट स्थापना भएपछि अटोमोबाइल उद्योगको समग्र इकोसिस्टमलाई बलियो बनाउन टायर र ब्याट्री उत्पादनजस्ता सहायक उद्योगहरू देखापरेका छन । हुलास अटो क्राफ्टका गोल्छाका अनुसार एसेम्बली प्लान्टको विकाससँगै अन्य उद्योग पनि विस्तारै देखिनेछन् । ‘एसेम्ब्ली प्लान्ट सञ्चालनमा आएसँगै सवारी साधनका पार्टपुर्जा उत्पादन गर्ने उद्योगको वृद्धि हुने अनुमान छ,’ गोल्छाले भने ।
सरकारको अग्रगामी सोच र स्थिर नीतिको साथ पाएमा एसेम्बली उद्योगले अटोमोबाइल क्षेत्रका लागि बलियो इकोसिस्टम विकास गर्न सक्छ । एसेम्बली उद्योगको सञ्चालन शुरू भएपछि देशभित्रै महत्त्वपूर्ण मूल्य अभिवृद्धि हुनेछ । आयातितको तुलनामा स्थानीय रूपमा एसेम्बल हुने दुईपांग्रे सवारीसाधनको मूल्य १५ हजारदेखि २० हजार रुपैयाँ कम रहेको व्यवसायी बताउँछन् ।
साथै, यस्ता उद्योगले रोजगारीका थप अवसर सृजना गरेका छन् । यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा २ हजारभन्दा बढी दक्ष कामदार कार्यरत छन् । देशमा एसेम्बली उद्योगको वृद्धि धेरै हदसम्म सरकारी कर प्रोत्साहनले प्रेरित गरेकाले भएको हो । सरकारले आव २०७५/७६ को बजेटमार्फत मोटरसाइकलको आन्तरिक उत्पादनमा ५० प्रतिशत अन्त:शुल्क र अन्य सवारीसाधनको
आन्तरिक उत्पादनमा २५ प्रतिशत अन्त:शुल्क छूट दिने घोषणा गरेको थियो । तर, अटोमोबाइल कम्पनीहरूले स्थानीय रूपमा एसेम्बल गरिएका सामानको मूल्य नघटाएको तर्क गर्दै दुईपांग्रे सवारीसाधनको सहुलियत पछि २५ प्रतिशतमा झारिएको थियो ।जनार्दन शर्मा अर्थमन्त्री हुँदा आव २०७८/७९ को बजेटमा उनले अन्त:शुल्क छूट २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएका थिए । त्यसैगरी सरकारले नेपालमा विद्युतीय
सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना भएमा ५ वर्षसम्म ४० प्रतिशत आयकर छूट दिने निर्णय गरेको छ । आव २०७९/८० को बजेटले विद्युतीय रिक्सा, मोटरसाइकल वा स्कूटर उत्पादन गर्ने कम्पनीले कच्चा पदार्थ र पार्टपुर्जा आयात गर्दा १ प्रतिशत भन्सार महशुल लाग्ने घोषणा गरिएको थियो ।
सरकारले बजेटमार्फत एसेम्बली प्लान्ट शुरू भएको दिनदेखि ५ वर्षसम्म अन्त:शुल्कमा ५० प्रतिशत छूट दिने घोषणा गरेको थियो । बजाज र टीभीएसले व्यावसायिक उत्पादन शुरू गरेको ५ वर्ष भइसकेको छ ।
एसेम्बली प्लान्ट स्थापना गरेकाहरूले अहिले नीतिगत प्रोत्साहनको निरन्तरताका लागि सरकारसँग लबिङ गर्न थालेका छन् । उनीहरूका अनुसार स्थानीय उत्पादनलाई समर्थन गर्दै सरकारको उपयुक्त नीतिका कारण एसेम्बली प्लान्टहरू यहाँसम्म आइपुगेका छन् ।
के गरे एसेम्बल प्लान्ट बढ्छ ?
नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले एसेम्बल प्लान्टलाई सरकारले धेरै छूट दिनुपर्ने बताउँछन् ।
‘अहिलेको सरकार एसेम्बल उद्योगको विषयमा सकारात्मक देखिएको छ । अहिले विद्युतीय सवारीसाधनसँगै कमर्सियल भाडामा चल्ने गाडीमा पनि छूट बढाउनुपर्छ,’ थापाले भने, ‘एसेम्बल उद्योग एकैपटकमा स्थापना हुँदैन । भारत र चीनले समेत एसेम्बल उद्योगबाटै अहिले विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका छन् ।’
अटोमोबाइल औद्योगिकीकरणको शुरुआत भनेकै एसेम्बल उद्योग रहेको उनको तर्क छ । नेपाल पनि यसमा विस्तारै जम्ने प्रयत्नमा रहेको भन्दै थापाले यसलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘मुख्य विषय सरकारी नीति हो । हाम्रा नीतिहरू स्थिर भएनन् । एउटा सरकार आउँदा एउटा नीति बनाउने र अर्काे आउँदा परिवर्तन गर्ने हुनु हुँदैन । यसले हाम्रो औद्योगिकीकरणतर्फ अगाडि बढिरहेको अटोमोबाइल क्षेत्रलाई प्रभाव पर्छ । त्यसैले सरकारले बनाउने नीतिहरू ८ देखि १० वर्षसम्म टिक्नुपर्छ । नीतिगत सुनिश्चितता हुनुपर्छ,’ उनले भने ।
नाडाले एसेम्बली प्लान्टमा हुने औद्योगिक लगानी जोगाउन हाल अन्त:शुल्कमा दिइएको छूटलाई कम्तीमा १५ वर्ष कायम गर्न सरकारलाई सुझाव दिएको छ । अटोमोबाइल व्यवसायीका अनुसार एसेम्बली उद्योग स्थापनाले धेरै सहयोगी उद्योगको उदयमा सहयोग पुग्नेछ, जसले लागत घटाउन र स्थानीय मूल्य अभिवृद्धिमा योगदान पुर्याउँछ ।
उद्योगका रूपमा दर्ता संख्या बढ्नु आगामी दिनका लागि राम्रो संकेत रहेको नाडा अटोमोबाइल एशोसिएशनका सचिव अनुप बरालले बताउँछन् । ‘अटोमोबाइल क्षेत्रमा काम गरिरहेका व्यवसायीले पछिसम्म यही काम गर्नु छ भने अगाडि बढ्नैपर्छ,’ उनले भने ‘भोलिको दिनमा नेपालमै केही गर्न सकिन्छ कि भनेर उहाँहरूले दर्ता गरेको हुन सक्छ ।’नेपालमै गाडी एसेम्बल हुँदा ग्राहकलाई सस्तोमा दिन सकिने र रोजगारीको अवसर बढ्ने उनले बताए । नेपालमा बनाएको गाडी नेपालबाहिर पनि बेच्न सकिने बरालको तर्क छ ।
नेपालमै गाडी एसेम्बल गर्न उद्योगीलाई सरकारले प्रेरित गर्नुपर्ने बरालले सुझाव दिए । सरकारले स्थान, विद्युत् प्रवाह, सहज ऋणको व्यवस्थाका लागि नीतिगत कुरामा ध्यान दिएमा नेपालमा गाडी एसेम्बल सम्भव भएको उनले बताए । सरकारले पेट्रोल–डिजेलबाट चल्नेलाई निरुत्साहित र विद्युतीयलाई प्रोत्साहन गरेका कारण पनि व्यवसायी यसमै लालायित भएको हुन सक्ने जानकार बताउँछन् ।