काठमाडौं। २० वाणिज्य बैंकमध्ये १२ ओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गरेका छन् । आठ बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । हिमालयन, एनएमबि, प्राइम कमर्सियल, कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, कृषि विकास र नेपाल बैंकले लाभांश नदिने निर्णय गरेका हुन् । वाणिज्य बैंकसँगै लाभांश वितरण नगर्नेमा फाइनान्स कम्पनी, विकास बैंक र लघुवित्त कम्पनीहरू पनि छन् ।
आर्थिक मन्दीका कारण सूचीकृत बैंकहरूको नाफा प्रभावित भएको छ । नियामकीय कडाइले गर्दा पनि उनीहरूले शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको देखिएको छ ।
त्यस्तै बैंकहरूको बढ्दो खराब कर्जाले अन्य क्षेत्रमा पनि प्रभाव पारेको छ । यसले सूचीकृत कम्पनीको नाफामा प्रत्यक्ष असर परेका कारण उनीहरूले शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकार बताउँछन् । एन.आई.सी. एशिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सन्राइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, सिटिजन्स इन्टरनेशनल, राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण गरेका छन् ।
लाभांश दिँदा पनि गतवर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरमा भन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गतवर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै दिएकोे छ । सिद्धार्थ बैंकले यस वर्ष ४ दशमलव २१ प्रतिशत नगद लाभांश मात्रै दिएको छ । सिटिजन्स बैंक इन्टरनेशनलले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।
नेपाल एसबीआई बैंकले भने ६ दशमलव ८० प्रतिशत नगद र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर विरण गरेको छ । लक्ष्मी सन्राइज बैंकका शेयरधनीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश पाएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी लाभांश एन.आई.सी. एशिया बैंकले दिएको छ । यो बैंकले २९ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने करका लागि १ दशमलव ५३ प्रतिशत नगद गरी कुल ३० दशमलव ५३ प्रतिशत लाभांश बाँडेको छ । यो बैंकले न्यूनतम पूँजीकोष नपुगेका कारण पछिल्ला २ वर्ष घोषणा गरिसकेको लाभांश पनि वितरण गर्न पाएको थिएन । दोस्रो बढी लाभांश दिने बैंक एभरेष्टले १० प्रतिशत बोनस शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
१२ ओटै बैंकले पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गरिसकेका छन् । साधारणसभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बद्ध शेयरधनीको बैंक खातामा पठाइसकेका छन् । केहीको बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।