वीरगञ्ज। वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा लक्ष्यको करीब ६१ प्रशितमात्र राजस्व उठाएको छ । आर्थिक मन्दी र औद्योगिक उत्पादनमा आएको कमीका कारण आयात घट्दा भन्सारको राजस्व पनि प्रभावित भएको भन्सार प्रमुख रामप्रसाद मैनालीले बताएका छन् ।
मुख्य नाकामा रहेको यो भन्सारले चालू आवको साउनदेखि वैशाखसम्ममा ४० अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ । यो रकम लक्ष्यको तुलनामा ६० दशमलव ७२ प्रतिशत हो । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सारलाई यो अवधिको लागि ५४ अर्ब २७ करोड रुपैयाँ संकलनको लक्ष्य दिएको थियो । चालू आवका लागि कुल ६५ अर्ब ९४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा लक्ष्यको ७० प्रतिशतभन्दा माथि जान नसक्ने दाबी भन्सार अधिकारीहरूको छ ।
सुक्खा बन्दरगाहबाट मुख्यत: फलाम उद्योगको कच्चा पदार्थ बिलेट र पशुपन्छी आहार उत्पादकहरूले मकै भित्र्याउँछन् । औद्योगिक कच्चा पदार्थसहित अन्य उपभोग्य वस्तुको आयात घटेको भन्सारले बताएको छ ।