काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ फाइनान्स कम्पनीहरूमध्ये हालसम्म १० कम्पनीले लाभांशसम्बन्धी निर्णय गरेका छन् । तीमध्ये तीन कम्पनीले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्, जसमा मञ्जुश्री फाइनान्स, आइसिएफसि फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी छन् ।
मञ्जुश्री फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २८ गते साधारण सभा बोलाएको छ । यस कम्पनीको बुक क्लोज भइसकेको छ । पुस ९ गतेसम्म कायम शेयरधनीे साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
त्यस्तै, आइसिएफसी फाइनान्सले गत आवको मुनाफाबाट ५ दशमलव २७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २९ गते साधारण सभा बोलाएको छ । पुस १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
त्यसैगरी, श्री इन्भेष्टमेन्ट फाइनान्सले १ दशमलव ८७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २९ गते साधारण सभा बोलाएको छ । पुस १८ गतेसम्म कायम शेयरधनीे यस कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
७ कम्पनीले लाभांश नदिने
सात फाइनान्स कम्पनीहरूले भने कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, गुडवील फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मल्टीपर्पस फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स र समृद्धि फाइनान्स छन् ।
५ कम्पनीको निर्णण हुन बाँकी
नेप्सेमा सूचीकृत वित्त कम्पनीमध्ये हालसम्म पाँच कम्पनीले लाभांशसम्बन्धी कुनै पनि निर्णय गरका छैनन्, जसमा वेष्ट फाइनान्स, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स र रिलायन्स फाइनान्स कम्पनी छन् ।
कुन कम्पनीले कति दिँदैछन् लाभांश ?
कम्पनीको नाम | २०८०/८१ सम्म को लाभाश % | |
बोनस शेयर | नगद लाभांश | |
मञ्जुश्री फाइनान्स | - | 6.35 |
आइसिएफसि फाइनान्स | - | 5.26 |
श्री इन्भेष्टमेन्ट फाइनान्स | 1.87 | 0.1 |
स्रोत : सम्बन्धित कम्पनीले प्रकाशित गरेको सूचना ।