काठमाडौं । यस आर्थिक वर्ष (आव) मा लाभांश घोषणा गरेका अधिकांश वाणिज्य बैंकको लाभांशदर घटेको देखिएको छ । केही बैंकले लाभांश नै नदिने निर्णय लिएका छन् ।
न्यून कर्जा विस्तार, आयमा आएको संकुचन र बढ्दो खराब कर्जाका कारण धेरै रकम प्रोभिजनिङमा राख्नु परेकाले बैंकहरूको नाफा गत आवमा प्रभावित भएको थियो । यस कारण अधिकांश बैंकको लाभांशमा असर परेको सम्बद्ध बैंक तथा विज्ञहरू बताउँछन् ।
हालसम्म आव २०८०/८१ सम्मको मुनाफाबाट ११ बैंकले लाभांश वितरण गर्ने निर्णय गरेका छन् । ५ बैंकले लाभांश वितरण नगर्ने निर्णय लिएका छन् । लाभांश दिने घोषणा गरेका बैंकमध्ये सातओटाको लाभांश दर अघिल्लो वर्षको तुलनामा घटेको छ ।
हिमालयन, माछापुच्छे्र, एनएमबि, राष्ट्रिय वाणिज्य र प्रभु बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने बताएका छन् । यीमध्ये माछापुच्छे्रले गतवर्ष १३ दशमलव ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिएको थियो । राष्ट्रिय वाणिज्य बैंकले पनि गतवर्ष ५ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो । हिमालयन, एनएमबि र प्रभु बैंकले गतवर्ष पनि लाभांश दिएका थिएनन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले खराब अवस्थामा रहेको सिभिल बैंकलाई गाभ्दा समग्र बैंकको वित्तीय स्वास्थ्यमा असर परेकाले २ वर्ष लाभांश वितरण गर्न नसकेको बताए ।
सिभिल बैंक २०७९ फागुन १२ गते हिमालयनमा गाभिएको थियो । ‘त्यसबेला सिभिल बंैकको खराब कर्जा नै २७ प्रतिशत थियो । यसकारण ठूलो रकम प्रोभिजनिङमा राख्नुपर्यो, जसको असर नाफामा देखियो र लाभांश वितरण गर्न सकिएन,’ राणाले भने ।
हाल सहकारी ठगीमा जेलमा रहेका इच्छाराज तामाङले सिभिल बैंकको प्रवर्द्धन गरेका थिए । लाभांश घोषणा गरेका बैंकमध्ये एभरेष्ट, नबिल, ग्लोबल आइएमई, लक्ष्मी सन्राइज, सानिमा, सिटिजन्स र सिद्धार्थ बैंकको लाभांशदर घटेको छ ।
स्ट्याण्डर्ड चार्टड बैंकको भने लाभांशदर गतवर्षको तुलनामा यस वर्ष बढेको छ । यो बैंकले अघिल्लो आवको मुनाफाबाट गतवर्ष १९ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट यस वर्ष ६ दशमलव ५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद गरी कुल २५ दशमलव ५ प्रतिशत लाभांश दिएको हो ।
नेपाल एसबिआई बैंकले पनि गतवर्ष ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र ६ दशमलव ८ प्रतिशत नगद गरी कुल १० दशमलव ५५ प्रतिशत लाभांश दिएकोमा यस वर्ष ३ दशमलव ८ प्रतिशत बोनस शेयर ६ दशमलव ८५ प्रतिशत नगद गरी कुल १० दशमलव ६५ प्रतिशत लाभांश दिएको छ ।
गतवर्ष लाभांश नदिएको प्राइम कमर्सियल बैंकले यस वर्ष ५ प्रतिशत नगद लाभांश दिएको छ ।
कृषि विकास बैंकले पनि गतवर्ष लाभांश नदिएकोमा यस वर्ष ३ प्रतिशत बोनस शेयर र ७ दशलमव ५३ प्रतिशत नगद गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
हालसम्ममा ४ ओटा बैंक— नेपाल इन्भेष्टमेण्ट मेगा, कुमारी, नेपाल र एन.आई.सी. एशिया बैंकले लाभांश घोषणा गरेका छैनन् ।
पूर्वबैंकर अनलराज भट्टराईका अनुसार बैंकहरूले ऋणको ब्याज उठाउन नसक्दा आम्दानीमा असर गरेकाले लाभांश क्षमतामा ह्रास आएको हो । ‘अर्कोतिर खराब कर्जाको प्रोभिजनिङका कारण पनि नाफामा असर पर्यो,’ उनले भने । वाणिज्य बंैकहरूको प्रोभिजनिङ गत आव २०८०/८१ मा २ खर्ब १ अर्ब रुपैयाँ पुगेको थियो । अघिल्लो आवको प्रोभिजनिङ १ खर्ब ४७ अर्ब रुपैयाँ थियो । ‘कतिपय बैंकले नाफा रिजर्भमा राख्दा पनि लाभांश नदिएका हुन सक्छन्,’ भट्टराईले भने ।