काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ४ दशमलव १९ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६३० दशमलव ७१ विन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि कतिपय आधारभुत अवस्था कमजोर रहेका कम्पनीहरूको शेयर मूल्य घटेको छ । विकास बैंक र वित्त समूहमा यसको बढी असर देखिएको छ । सोही कारण यी दुवै समूहका कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको छ । बिहीवार कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेको छ ।
वित्तीय अवस्था नाजुक भएका कम्पनीहरूको शेयर मूल्य 'अकासिँदै' आएको छ । तर, तुलनात्मकरूपमा सबल र संस्थागत सुशासन राम्रो भएका कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा छ ।
कर्णालीको घटनाले अब लगानीकर्ताहरू आधारभूत अवस्था मजबुत भएका कम्पनीहरूतिर मोडिने सम्भावना पनि देखिएको छ । सोही कारण आज धेरैजसो वाणिज्य बैंकहरूको शेयर मूल्य बढेको देखियो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।
आज ३१० धितोपत्रको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर ६१ हजार ८३९ पटकमा रू. ५ अर्ब ३२ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । आत्मनिर्भर लघुवित्तको शेयर मूल्य रू. ५ हजार ९३७ दशमलव ४० र सपोर्ट लघुवित्तको शेयर मूल्य रू. ३ हजार ९८५ दशमलव ९० पुगेको छ ।
आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा प्रभु बैंकले ओगटेको छ । यस कम्पनीको रू. ५० करोड ७७ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २४४ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जानकी फाइनान्स छ । यस कम्पनीको रू. २२ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी २ दशलमव ३१ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ७० प्रतिशत घटेको छ ।