काठमाडौं । हाल धितोपत्र दोस्रो बजार २ हजार ६२६ विन्दुमा रहेको छ । बजार २ हजार ७०० विन्दुभन्दा तल रहेको अवस्थामा सूचीकृत १९ वाणिज्य बैंकहरुमध्ये ११ बैंकको शेयर ३०० रुपैयाँभन्दा कम मूल्यमै खरीद गर्न पाइन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा ३०० रुपैयाँभन्दा कम शेयर मूल्य हुने कम्पनीको सूचीमा नेपाल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सन्राइज बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इनभेष्टमेन्ट मेगा बैंक र कुमारी बैंक रहेका छन् ।
वाणिज्य बैंकहरूमध्ये कुमारी बैंकको शेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता २१५ रुपैयाँ ६० पैसा रहेको हो । पछिल्लो कारोबार दिन पुस ९ गते कायम अन्तिम शेयर मूल्यका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ ९० पैसा, सिटिजन्स बैंक इन्टरनेशनलको २१९ रुपैयाँ ५० पैसा, ग्लोबल आइएमई बैंकको २२७ रुपैयाँ, प्रभु बैंकको २३० रुपैयाँ ५० पैसा, लक्ष्मी सन्राइज बैंकको २३३ रुपैयाँ, माछापुच्छ्रे बैंकको २३४ रुपैयाँ १० पैसा, हिमालयन बैंकको २३७ रुपैयाँ, एनएमबि बैंकको २४७ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २५८ रुपैयाँ ९० पैसा र नेपाल बैंकको २६६ रुपैयाँ ६० पैसा छ ।
३०० रुपैयाँभन्दा बढी शेयर मूल्य भएका वाणिज्य बैंकहरू आठ ओटा रहेका छन् । नेप्सेका अनुसार पछिल्लो कारोबार दिन सानिमा बैंकको प्रतिकित्ता ३०१ रुपैयाँ, सिद्धार्थ बैंकको ३०८ रुपैयाँ, कृषि विकास बैंकको ३२६ रुपैयाँ, एनआईसी एशिया बैंकको ३९६ रुपैयाँ, नेपाल एसबिआई बैंकको ४२५ रुपैयाँ, नबिल बैंकको ५०१ रुपैयाँ, एभरेष्ट बैंकको ५८० रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६६६ रुपैयाँ शेयर मूल्य कायम भएको हो ।
पछिल्ला वर्ष वाणिज्य बैंकहरुको लाभांश दर घट्दो अवस्थामा रहेको र न्यून कर्जा विस्तारसँगै बढ्दो खराब कर्जाका कारण कम्पनीहरूको नाफामा समेत असर पर्दै गएको अवस्थामा लगानीकर्ताको आकर्षण यो समूहमा घटेको ब्रोकरहरू बताउँछन् ।
कुनै समय वाणिज्य बैंकको शेयरबाहेक अर्को विकल्प नदेख्ने लगानीकर्ता ३ हजार २०० विन्दु बजारले पार गर्दासमेत वाणिज्य बैंकको शेयरले नाफा दिन नसकेको गुनासो गर्दै पछि हट्ने गरेको एक ब्रोकरले सुनाए । कतिपय लगानीकर्ताहरू भने दीर्घकालीन लगानीका लागि वाणिज्य बैंकको शेयर नै रोज्ने गरेको ती ब्रोकरको भनाइ छ ।
लगानीकर्ताको संख्या बढ्दै जाँदा अल्पकालीन लगानीकर्ता बढी सक्रिय रहेको बजारमा ठुला पूँजीका कम्पनीमा भन्दा साना पूँजीका कम्पनीका लगानी बढ्दो रहेको ब्रोकरहरूको भनाइ छ ।
जानकार लगानीकर्ताहरूले वाणिज्य बैंकको शेयरमा कम जोखिम मूल्याङ्कन गर्ने गर्छन् । लगानीका हरेक क्षेत्रमा जोखिम हुने भएकाले जोखिमलाई भोलिका दिनमा आफूले सम्हाल्ने गरी स्वीकार्नुपर्ने सुझाव ती लगानीकर्ताको छ ।
राम्रा कम्पनीको शेयर मूल्य कम भएको अवस्थामा शेयर खरीद गर्न सके दीर्घकालीन लगानी सुरक्षित हुने अनुभव पनि ती ब्रोकरहरूको छ ।
कुन बैंकको शेयर मूल्य कति ?
बैंकको नाम | पुस ९ गतेको शेयर मूल्य रू. |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | ६६६ |
एभरेष्ट बैंक | ५८० |
नबिल बैंक | ५०१ |
नेपाल एसबिआई बैंक | ४२५ |
एनआईसी एशिया बैंक | ३९६ |
कृषि विकास बैंक | ३२६.९ |
सिद्धार्थ बैंक | ३०८ |
सानिमा बैंक | ३०१ |
नेपाल बैंक | २६६.६ |
प्राइम कमर्सियल बैंक | २५८.९ |
एनएमबि बैंक | २४७ |
हिमालयन बैंक | २३७ |
माछापुच्छ्रे बैंक | २३४.१ |
लक्ष्मी सन्राइज बैंक | २३३ |
प्रभु बैंक | २३०.५ |
ग्लोबल आइएमई बैंक | २२७ |
सिटिजन्स बैंक इन्टरनेशनल | २१९.५ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | २१८.९ |
कुमारी बैंक | २१५.६ |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)