काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा अन्तिम दिनसम्म १७ लाख ८५ हजार ८५३ जनाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले दिएको जानकारी अनुसार पुस ९ गते साँझ ५ बजेसम्म यी आवेदकहरूबाट २ करोड ४८ लाख ८५ हजार ८४० कित्ता एफपीओ खरीद माग भएको हो ।
कम्पनीले भने ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ पुस ५ गतेदेखि जारी गरेको हो । अन्तिम दिनसम्म कम्पनीले निष्कासन गरेको एफपीओ कित्ताभन्दा ५२ दशमलव ३२ गुणा बढी आवेदन परेको सिडिएससीको तथ्याङ्कले देखाउँछ ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४९० रुपैयाँ कायम छ । कम्पनीले सर्वसाधारणतर्फको शेयर स्वामित्व ३० प्रतिशत कायम गर्नका लागि प्रतिशेयर १०० रुपैयाँमा नै एफपीओ निष्कासन गरेको हो ।
कम्पनीको एफपीओ बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ता हालकै मूल्यलाई आधार मान्ने हो भने पनि पहिलो दिनमै करीब १४ हजार रुपैयाँ नाफामा रहन्छन् ।
यसर्थ पनि लगानीकर्ताको आकर्षण यो एफपीओ बढी देखिएको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको एफपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । भाग्यमानी ४७ हजार ५४४ जना आवेदकले मात्र कम्पनीको एफपीओ प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी भने ३२ करोड २३ लाख ७८ हजार रहेको छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ कायम हुनेछ ।