काठमाडौं। नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ ओटा अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतवार एक कार्यक्रमबीच बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प बादीलाई आवास हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उच्च पदाधिकारीको उपस्थिति थियो ।
बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यो परियोजना अघि बढाएको जानकारी उनले दिए ।
बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रङरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।
कार्यक्रममा नलगाड नगरपालिकाका मेयर रावत र चौरजहारी नगरपालिकाका मेयर बादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराउन नबिल बैंकले पुर्याएको सहयोग महत्त्वपूर्ण रहेको बताए । निजीक्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गर्नु प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो ।
२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि १ करोड रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको थियो ।
नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विपद् प्रभावितलाई राहत उपलब्ध गराउँदै आएको छ । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।