काठमाडौं । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रहेको सर्वसाधारणको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै सरकारले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित ३१ जना र पाँच कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले आइतवार जिल्ला अदालत कास्कीमा उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
सरकारी वकिलको कार्यालयले लामिछानेले सहकारीको बचत रकम अपचलन गरी आफूअनुकूल खर्च गरेको र आफूनिकट व्यक्तिबाट सम्पत्ति शुद्धीकरणसमेत गरेको आरोप लगाएको छ । लामिछानेका साथै छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाईले सहकारीको रकम दुरुपयोग गरेको भन्दै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । यसैगरी पछाई र विक्रम राईले सहकारीको रकम क्रिप्टोकरेन्सीमा लगाएको भन्दै नेपाल राष्ट्र बैंक कसुरमा पनि मुद्दा दर्ता भएको छ ।
यसैगरी दीपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ र लक्ष्मीप्रसाद पौडेललाई सहकारी ठगी र संगठित अपराधको मुद्दा लगाइएको छ । यस्तै सहकारीका सञ्चालकहरू ज्ञानबहादुर बमजन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देव नेपाली, शकुन्तला गुरुङ, मिस्रीकुमारी गुरुङ, रितु ताम्राकारलाई भने सहकारी ऐन २०७४ को कसुरविरुद्ध मात्र मुद्दा दायर गरिएको छ । सम्पत्ति जफत गर्नका लागि लामिछानेकी श्रीमति निकिता पौडेलका साथै पद्मा बञ्जाडे जोशी र छोरा रोचक जोशीलाई प्रतिवादी बनाइएको छ । पछाइकी आमा राधा पछाई र दिदी गीता पछाईको पनि सम्पत्ति जफत गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ ।
सहकारीको पैसा कम्पनीमा अपचलन गरिएको भन्दै गीतेन्द्र बाबु (जिबी) राई अध्यक्ष रहेका आठओटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको १ अर्ब ११ करोड अपचलन भएको भन्दै जिल्ला अदालत कास्कीमा १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा लामिछानेलाई उन्मुक्ति दिएको भन्दै विरोध भएपछि प्रहरीले पूरक उजुरी लिएर पुन: अनुसन्धान गरेको हो ।
सांसद सूर्य थापाको संयोजकत्वमा बनेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समिति’ ले सहकारीको पैसा गोरखा मिडियामा लगेर अपचलन गरेको भन्दै लामिछानेसहितलाई कारबाही गर्न सिफारिश गरेपछि प्रहरीले पुन: अनुसन्धान गरेको हो । जोशीलाई असोज ६ गते र लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो ।
अभियोगपत्रमा लामिछानेको २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ सम्पत्तिको स्रोत खुल्न नसकेको भन्दै उक्त बिगो असुलउपर गरी सूर्यदर्शनका बचतकर्तालाई भराउनुपर्ने माग छ । यस्तै लामिछानेको अंशबन्डाबाट प्राप्त काभ्रेपलाञ्चोक नाल्दुम बालुवापाटी–९ को जग्गा र श्रीमति निकिताको नाममा रहेको काठमाडौं बूढानीलकण्ठको घरजग्गासमेत जफत गर्न माग गरिएको छ । पछाईको पनि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ सम्पत्तिको स्रोत खुल्न नसकेको भन्दै एकाघरका परिवारमा दिदी गीता पछाई र आमा राधा पछाईको नाममा रहेको सम्पत्तिसमेत जफतको माग गरिएको छ ।
अर्का आरोपी खनालले १४ करोड ३० लाख ९१ हजार ९११ सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ । यस्तै जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा शुद्धीकरण गरेको भन्दै परिवारका सदस्य श्रीमति पद्मा बञ्जाडे जोशी र रोचक जोशीको नाममा रहेको चलअचल सम्पत्ति जफतको माग गरिएको छ । सरकारी वकिलको कार्यालयले ४४७ पृष्ठको अभियोगपत्रसँगै २५८४ ओटा प्रमाणसमेत पेश गरेको बताएको छ ।