काठमाडौं । विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्कासनको प्रस्ताव राखेर १६औं वार्षिक साधारण सभा बोलाएको हो । सभा यही पुस २९ गते काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा दिउँसो साढे १२ बजे बस्नेछ ।
सभामा एफपीओ निष्कासनसँगै संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नेलगायतका प्रस्ताव पेश गरिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई एफपीओ निष्कासनको तयारी गरेको हो ।
त्यस्तै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।