काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १३ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करिब २९ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम फिर्ता भएसँगै नाफा बढेको हो ।
गत वर्ष १ करोड ६६ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज वापत् रकम छुट्याएको कम्पनीले यस वर्ष २ करोड ८९ लाख रुपैयाँभन्दा बढी फिर्ता पाएको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २७ करोड ८० लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख रुपैयाँ छ भने जगेडा कोष रकम २७ करोड ८० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीले तेस्रो त्रैमाससम्म ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ९ दशमलव २४ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ९ दशमलव ६६ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १२ पैसा छ ।