काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको सोेही अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १३ करोड ५ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम ९२ दशमलव २७ प्रतिशत कम हुँदा खुद नाफामा उल्लेख्य मात्रामा बृद्धि देखिएको हो । गत वर्ष यस अवधिसम्म ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष सोही अवधिसम्ममा २८ करोड २८ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो ।
गत वर्ष यस अवधिसम्म १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष सुधारिएर ३० करोड ६२ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने २३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी कायम छ ।
यस वर्ष कम्पनीले ३ खर्ब १३ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने आफ्ना सदस्यहरुमा २ खर्ब १६ अर्ब ९३ लाख रुपैयाँभन्दा बढी र विभिन्न संघसंस्थाहरुमा ६ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव ८५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ५ दशमलव ४५ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २५ रुपैयाँ २६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २६० रुपैयाँ ७४ पैसा कायम भएको छ ।