काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०८२ वैशाख ७ गते आजदेखि ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले ७ वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर रहने गरी ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नाम ऋणपत्र निष्कासन गरेको हो ।
प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र कम्पनीले विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ सस्थामा विक्री हुनेछ भने ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणमा विक्री हुने जानकारी कम्पनीले दिएको छ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तामा ९ लाख ५० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा आएको हो । ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । छिटोमा वैशाख १० गतेसम्म विक्रीमा रहने यी ऋणपत्र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २१ गतेसम्म विक्री लम्बिनेछ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाउने व्यवस्था छ ।
ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले ऋणपत्रमा आर्जित तोकिए बमोजिमको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्ने बताएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर घटेसँगै ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको देखिन्छ ।