काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहक सदस्यहरूका लागि रूपन्देहीमा ३ दिने ‘उन्नत बेमौसमी तरकारी खेती तालिम’ आजबाट शुरु भएको छ ।
निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजकत्वमा शुरु भएको तालिममा रूपन्देहीको महजिदिया शाखाअन्तर्गतका ३० जना ग्राहक सदस्य सहभागी छन् । तालिम आगामी बुधवार (पुस १० गते)सम्म चल्नेछ ।
तालिमको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजन र निर्धन संस्थाका उपाध्यक्ष जनार्दन देव पन्तले गरे । उपमेयर हरिजनले तालिमले किसानको आर्थिक अवस्था सुधार गरी जीविकोपार्जनमा समेत सघाउने विश्वास व्यक्त गरिन् ।
आफू पनि निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको ग्राहक सदस्य रहेको बताउँदै उनले संस्थाले ग्राहकको आवश्यकता अनुसार तालिम तथा विना धितो ऋण प्रदान गरी व्यवसायी बन्न उत्प्रेरित गर्दै आएको बताइन् । साथै उनले तालिममा सहभागी व्यक्तिलाई शीप बढाएर उत्पादन क्षेत्रमा लगानी गर्नसमेत आग्रह गरिन् ।
संस्थाका उपाध्यक्ष पन्तले तालिमबाट किसानहरूको व्यावसायिक क्षमता अभिवृद्धि भई उत्पादकत्व र आम्दानी वृद्धि हुने र यसबाट किसानहरूको आर्थिक र सामाजिक अवस्थामा सुधार हुने विश्वास व्यक्त गरे । उनले संस्थाले ग्राहकहरूको आवश्यकताअनुसार शीप विकास र उद्यमशीलता विकास तालिम सञ्चालन गरिरहेको बताए ।
तालिमको उद्घाटन सत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको महजिदिया शाखाका शाखा प्रमुख राम किशोर चौधरीले स्वागत मन्तव्य राखे । कार्यक्रमको सभापतित्व सहभागीहरूको तर्फबाट संगीता थारुले गरिन् ।
कार्यक्रममा लघुवित्तका क्षेत्रीय प्रबन्धक आनन्द कुमार गौतमले आफ्नो मन्तव्य राखेका थिए ।
तालिममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कृषि शाखा अधिकृत महेन्द्र यादव र कृषि विशेषज्ञ हिक्मत खत्रीले प्रशिक्षण दिँदैछन् । तालिममा निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनाजोले सहजीकरण गर्नेछन् ।