काठमाडौं। औद्योगिक समूह गोल्छा समूहले युवालाई बजार–सान्दर्भिक प्राविधिक शीप प्रदान गरी शिक्षा र रोजगारीबीचको अन्तर घटाउन औद्योगिक नेतृत्वमा आधारित ‘अप्रेन्टिशिप प्रोग्राम’ कार्यान्वयन गर्ने भएको छ । यसका लागि ‘इन्ह्यान्स स्किल्स फर सस्टेनेबल एण्ड रिवाडिङ इम्प्लोयमेन्ट (इन्स्योर)’ परियोजनासँग सम्झौता गरिएको छ । सहकार्यलाई औपचारिकता दिन गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र इन्स्योर परियोजनाका टोली प्रमुख रविन्द्रबहादुर सिंहबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । कार्यक्रमले अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि जस्ता क्षेत्रमा तालीम उपलब्ध गराइने बताइएको छ । त्यस्तै कर्मचारीका लागि शीप उन्नयन तालीममार्फत दीर्घकालीन सिकाइको प्रवर्द्धन गरिने समझदारीपत्रमा उल्लेख छ ।
इन्स्योर परियोजना नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलअन्तर्गत द्वैध ‘भेट अप्रेन्टिशिप’ मोडेल कार्यान्वयनमा केन्द्रित रहेको बताइएको छ । यस मोडेलले प्राविधिक विद्यालयमा प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगमा व्यावहारिक तालीमसँग जोडेर प्रशिक्षित गरिने बताइएको छ । तालीमपछि सहभागीले सीटीइभीटीद्वारा मान्यताप्राप्त प्रि–डिप्लोमा प्रमाणपत्र पाउनेछन् ।
गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले भने, ‘यस सहकार्यले नेपालका युवालाई आजको प्रतिस्पर्धी श्रम बजारमा सफलताका लागि आवश्यक शीप प्रदान गर्ने हाम्रो प्रतिबद्धता स्पष्ट पारेको छ ।’ यस्तै इन्स्योर परियोजनाका टोली प्रमुख सिंहले गोल्छा समूहसँगको सहकार्य नेपाललाई शीपयुक्त जनशक्ति निर्माण गर्ने अभियानमा महत्त्वपूर्ण कोशेढुंगा भएको बताए । ‘व्यावसायिक तालीममा उद्योगका आवश्यकता समावेश गर्दा युवालाई रोजगारमूलक बनाउँदै शीप अन्तर घटाउन र देशको आर्थिक प्रगतिमा योगदान गर्न मद्दत पुग्नेछ,’ उनले भने ।
गोल्छा समूहले विभिन्न क्षेत्रका १०० भन्दा बढी कम्पनी सञ्चालन गर्दै आएको छ । यो कार्यक्रममा सहभागी भएर समूहले नेपालको औद्योगिक विकास र आर्थिक वृद्धिमा योगदान गर्ने जनशक्ति उत्पादनको लक्ष्य राखेको छ ।