काठमाडौं। ‘सूर्य नेपाल गल्फ टुर २०२४–२५’ को तेस्रो प्रतियोगिता ‘सूर्य नेपाल इस्टर्न ओपन’ आज (बुधवार)देखि धरान गल्फ क्लबमा शुरू हुँदै छ । सूर्य नेपालद्वारा प्रायोजित ५४ होलको यो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी रू. ८ लाख ८२ हजार रहेको बताइएको छ ।
विजेताले रू. १ लाख ५० हजार, दोस्रो हुनेले रू. १ लाख, तेस्रो हुनेले रू. ७५ हजार प्राप्त गर्ने बताइएको छ । शीर्ष २१ स्थानमा आउने खेलाडीले पनि पुरस्कार राशी जित्ने बताइएको छ । प्रतियोगितामा २९ प्रोफेशनल गल्फ खेलाडी र २६ एमेच्योर खेलाडी (५ वा सोभन्दा कम हेयान्डिक्याप भएका) खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगिताका प्रमुख दावेदारमध्ये भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, निरज तामाङ, सञ्जय लामा र धन थापा छन् ।
३६ होलको खेलपछि कट लागू गरिने प्रतियोगिताको शीर्ष २१ प्रोफेशनल र एमेच्योर खेलाडीहरू अन्तिम १८ होलको चरणमा प्रवेश गर्ने बताइएको छ ।