काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ ।
‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ नारालाई आत्मसात् गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउन बैंकको काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रवार हाट बजार सञ्चालन गर्ने बताइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको बताए । हाट बजारमा विषादीरहित कृषि उपज, रैथाने बाली तथा सो अनुरूपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायत सामग्री प्रदर्शन तथा विक्रीका लागि राखिने बताइएको छ ।