काठमाडौं । कोरोना महामारीपछि सन् २०२३ को मार्चमा चीनले नेपाललाई आफ्ना नागरिकले भ्रमण गर्न सक्ने देशको रूपमा पुन: राखेपछि व्यवसायी कोरोना महामारीअघि जस्तै ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउने आशमा थिए ।
कोरोनाअघि सन् २०१९ मा नेपालमा १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक आएकोमा सन् २०२१ र २०२२ मा नगन्य चिनियाँ आए । त्यसपछि सन् २०२३ मा ६० हजार ८७८ र सन् २०२४ को नोभेम्बरसम्म ९२ हजार ८४८ चिनियाँ नेपाल आएका छन् ।
यसरी चिनियाँ पर्यटक आगमनमा सुधार भए पनि ह्वात्तै भने बढ्न सकेको देखिँदैन । सन् २०२५ भने चिनियाँ पर्यटकको संख्यामा ठूलो वृद्धि हुने आशमा नेपाली पर्यटन व्यवसायी तथा सरोकारवाला छन् । त्यसको कारण छ– सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्षका रूपमा मनाउने र आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने भनी चीनले गरेको वाचा ।
चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा जान प्रोत्साहित गर्ने उद्देश्यले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल २०८० असोजमा चीन भ्रमणमा जाँदा ‘नेपाल भ्रमण वर्ष २०२५’ चीनमा मनाउने घोषणा गरिएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको भ्रमणमा चीनमा नेपालको प्रवर्द्धन गर्ने खालको कार्यक्रम गर्ने र चिनियाँ पयर्टकलाई नेपाल भ्रमणमा जान प्रोत्साहित गर्ने बेइजिङले बताएको छ ।
नेपाल भ्रमण वर्षअन्तर्गत चीनमै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्नुका अतिरिक्त चीनले पनि नेपालमा विभिन्न कार्यक्रम गर्ने भएको छ । त्यसअनुसार नेपालमा ‘चाइना फेस्टिवल र ह्याप्पी स्प्रिङ फेस्टिवल, काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाउने, पोखरा इन्टरनेशनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसन, चाइना–नेपाल फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिवल र लुम्बिनी इन्टरनेशनल पिस फेस्टिवलजस्ता कार्यक्रम गरिने प्रधानमन्त्री ओलीको भ्रमणको बेला दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ । संयुक्त वक्तव्यअनुसार चिनियाँ फिल्म फेस्टिवल पनि नेपालमा आयोजना गरिनेछ ।
सन् २०२५ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध कायम भएको ७० वर्ष हुन्छ । दौत्य सम्बन्धको ७०औं वार्षिकोत्सवको अवसर पारेर अहिलेको तुलनामा ४/५ गुणा चिनियाँ पर्यटक नेपाल पठाएर दौत्य सम्बन्ध कायम भएको वर्ष उल्लासपूर्ण बनाउने रणनीतिमा चीन रहेको सरोकारवालाहरूले बताएका छन् ।
चीनले नै सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै चिनियाँ पर्यटकलाई नेपाल जान प्रोत्साहित गर्ने भनेकाले अर्को वर्ष भने चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनेमा पर्यटन व्यवसायी आशावादी छन् ।
‘सन् २०२५ मा ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल पठाउँछौं भनेका छन् । १ लाखबाट ३/४ लाख पर्यटक आउने हो भने निकै राम्रो हुन्छ, यसलाई दीर्घकालीन रूपमा लैजानुपर्छ,’ चिनियाँ पर्यटक नेपाल ल्याउने मुख्यमध्येको साथी नेपाल टुर्स एन्ड ट्राभल्स कम्पनीका सीईओ किशोरराज पाण्डेले भने ।
सन् २०२४ मै ५० लाख चिनियाँ पर्यटक थाइल्यान्ड गएको तथ्यांक रहेको भन्दै उनले थपे, ‘नेपालमा ४/५ लाख पर्यटक ल्याउने कुरा खास ठूलो होइन, अहिले १ लाख पर्यटक आएकोमा ४/५ लाख आउने हो भने राम्रो कुरा हो तर के कसरी पठाउँछन् भन्ने कुरा हो ।’
आउटबाउन्ड पर्यटनमा विश्वमा चीनको ठूलो भूमिका रहेको उनको भनाइ छ । चिनियाँ पर्यटक ल्याउन एयर कनेक्टिभीटी पनि उत्तिकै जरूरी रहेको उनको भनाइ छ ।
नेपाल भ्रमण वर्ष २०२५ घोषणा नेपालबाटै हुनेछ । चिनियाँ पर्यटक नेपालमा ल्याउनेमध्येको प्रमुख टुर्स कम्पनी स्वाङ् छी टुर्स प्रालिका प्रबन्ध निर्देशक विश्वेश श्रेष्ठले नेपालको भक्तपुरबाट औपचारिक रूपमा उक्त भ्रमण वर्ष मनाउने घोषणा गर्न लागिएको जानकारी दिए । ‘पहिला यस्तो प्रचारप्रसार तथा प्रवर्द्धनका काम प्रमुख शहरमा हुन्थ्यो, सन् २०२५ मा भने चीनको राष्ट्रिय तहका सबै प्रमुख शहरमा गरिनेछ,’
उनले भने । चीनमा नेपाल भ्रमण वर्ष मनाउने अभियानअन्तर्गतकै चीन–नेपाल मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव’ पुस १४ र १५ गते नेपालमा आयोजना हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी गराए ।
नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन चीनसमक्ष आग्रह गरिएअनुसार अभियान शुरू हुन लागेको उनी बताउँछन् । चीनका मुख्य स्रोत बजारहरूमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ ।
‘चाइना रेडी प्रोग्राम’ भनेर नेपालभित्र पनि कार्यक्रम गरिने उनको भनाइ छ । ‘यसमा जनशक्ति विकास गर्नेदेखि लिएर सञ्चारक्षेत्रको उपयोगका काम गरिएका छन्,’ जोशीले भने, ‘अर्काेतर्फ चीनबाट केही इन्फ्लुएन्सर, मिडिया र नेपालमा पर्यटक पटाउने टुर अपरेटरहरूलाई नेपालको गन्तव्यको परिचयात्मक भ्रमण गराउने कार्यक्रम राखिएको छ ।’ बोर्डले यस्तै कर्पाेरेट हाउस, विमान सञ्चालक कम्पनीहरूसँगको सहकार्यमा पनि प्रवर्द्धन गर्ने कार्यक्रम डिजाइन गरेको छ । कोरोना महामारीअघिको वर्ष सन् २०१९ मा १ लाख ७० हजार चिनियाँ पर्यटक नेपालमा आएका थिए ।
सन् २०२३ मा यो संख्या ६० हजार छ । ‘यो संख्यामा अझै १ लाखको अन्तर छ,’ जोशीले भने, ‘कोभिडअघिकै अवस्था सन् २०२५ मै पुर्याउने लक्ष्य छ । कम्तीमा यो वर्षमा पुर्याउन सकियोस् भन्ने गरी काम गरिएको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गर्दै आएको नेपाल पर्यटन तथ्यांक २०२३ अनुसार नेपालमा सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ पर्यटक आउँदा त्यसमा ५ दशमलव ९९ प्रतिशत चिनियाँको अंश छ ।साथी नेपाल टुर्स एन्ड ट्राभल्स कम्पनीका सीईओ पाण्डे सन् २०२५ मा चार प्रकारबाट चिनियाँ पर्यटक आउन सक्ने आकलन गर्छन् । कोरोनाअघि करीब १० हजार चिनियाँ पर्यटक ल्याउने उनको कम्पनीले त्यसपछिका दिनमा भने ३/४ हजार पर्यटक ल्याइरहेको छ । यो संख्या पछिल्लो समयमा बढेको उनको भनाइ छ ।
उनका अनुसार एउटा ट्राभल एजेन्टबाट, अर्काे व्यक्तिगत रूपमा आउने, बुद्धिस्टहरू र चौथो सरकारी अधिकारीहरू पनि आउँछन् । ‘उनीहरू के कसरी आउँछन् भन्ने हो,’उनले भने,
चिनियाँ नयाँ वर्षको बिदा ७ दिन हुन्छ । चिनियाँ पर्यटक वर्षभर आउने गरे पनि जनवरी र फेब्रुअरीमा बढी आउने गर्छन् । चिनियाँ पर्यटक ल्याउने र चिनियाँ सरकारले नेपालमा पठाउने भनिए पनि हवाई टिकट निकै महँगो रहेको पाण्डेको भनाइ छ । यसले गर्दा नेपाल आउने चिनियाँको संख्या कम छ । नेपालमा आउने पर्यटकले सडकदेखि अन्य धेरै कुरामा सुधार खोज्ने भन्दै उनले थपे, ‘मुग्लिन–पोखरा जानै ९/१० घण्टा लाग्छ, यो अवस्था त उनीहरूलाई थाहाँ हुँदैन ।’
अर्का पर्यटन व्यवसायी श्रेष्ठले चीनका विभिन्न ठाउँमा नेपाल भम्रणमा आउनका लागि नेपाल पर्यटन बोर्डलगायत चिनस्थित नेपाली दूतावाससमेत र नेपाली व्यवसायीले काम गर्नुपर्ने उनको भनाइ छ । ‘नेपालको तर्फबाट अहिले पनि प्रचारप्रसारको कामलाई गम्भीर रूपमा लिइएको छैन,’ श्रेष्ठले भने, ‘अर्काेतर्फ चीनबाट चार्टर्ड उडान भए पनि नियमित रूपमा उडान छैन । चिनियाँ एयरलाइन्सले नै उडान राखेमा पर्यटक संख्या बढ्न सक्ला तर यसका लागि उडान संख्या बढाउनुपर्छ ।’
२/३ लाख चिनियाँ पर्यटक आए पनि चाइनिज रेस्टुराँ, यातायात सेवा दिनका लागि नेपाल अहिले सक्षम भइसकेको भन्दै उनले थपे, ‘विगतभन्दा अहिले उनीहरूले गर्ने खर्चमा फरक देखिएको छ । पहिला पाँचतारे होटेलमा बस्ने पर्यटक मात्रै नेपालमा आउँथे, अहिले ठमेल वा २/३ तारे होटेलमा बस्नेको संख्या बढेको छ ।’ सन् २०२४ मा ४/५ तारे होटेलको सेवा लिन सक्ने पर्यटक भित्त्याएको उक्त कम्पनीले हाल वार्षिक २ हजारभन्दा बढी पर्यटक नेपालमा भित्त्याउने गर्छ । चिनियाँ पर्यटक खासगरी नगरकोट, धुलिखेल, पोखरा, काठमाडौं, चितवन र थोरै संख्यामा लुम्बिनी पनि जाने गर्छन् ।