काठमाडौं । मुलुकभित्र लगानीको वातावरण अझ राम्रो बनेको र रोजगारी सृजनासमेत उल्लेख्य बढेको सरकारले दाबी गरिरहेका बेला कामको खोजीमा विदेश जानेको संख्याले कीर्तिमान बनाएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार एकै महीनामा रोजगारीका लागि झन्डै ८४ हजार नेपालीले देश छाडेका छन् । रोजगारीका लागि एकै महीनामा यति धेरै नेपाली विदेशिएको यो पहिलो घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले गत मङ्सिरमा रोजगारीका लागि देश छाड्नेको संख्या हालसम्मकै उच्च रहेको बताए ।
वैदेशिक रोजगारीको इतिहासमा मङ्सिरअघि गतवर्ष भदौमा सबैभन्दा बढी ७६ हजार ४०३ जना नेपालीले कामका लागि देश छाडेको सरकारी तथ्यांक छ ।
उनका अनुसार यूरोपमा भन्दा खाडी मुलुकमै नेपालीहरू वैदेशिक रोजगारीका लागि गएका छन् । विभागको तथ्यांक हेर्ने हो भने मङ्सिरमा सरकारसँग अनुमति लिएर ८३ हजार ९३३ नेपाली कामको खोजीमा संसारका विभिन्न ९६ देश गएको देखिन्छ । मङ्सिरमा व्यक्तिगत र संस्थागत गरी ७० हजार ५०० पुरुष र १३ हजार ४३३ महिला श्रमस्वीकृति लिएर विदेश गएका छन् ।
गतवर्ष मङ्सिरमा ७१ हजार २७६ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गतवर्षको तुलनामा यस वर्ष १२ हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाउँछ । तीमध्ये ८५ प्रतिशतभन्दा बढी खाडीका देश गएको विभागको तथ्यांक छ ।
यस वर्ष मङ्सिरमा मात्र संयुक्त अरब इमिरेट्स (यूएई) जान २४ हजार ७६९ नेपाली नयाँ तथा पुन: श्रमस्वीकृति लिएका छन् । साउदी अरब जान दोस्रो धेरै १८ हजार ११५ जनाले श्रमस्वीकृति लिएका छन् ।
कतार जान १४ हजार ८४४ जनाले श्रमस्वीकृति लिएका छन् । अर्को रोजगार गन्तव्य मलेशिया जानेको संख्या भने घट्दो क्रममा रहेको देखिन्छ । मलेशियाले विदेशी कामदारको संख्यामा कोटा तोकेपछि त्यता जाने नेपालीको संख्या घट्न थालेको हो । गत मङ्सिरमा ४ हजार ४६९ नेपालीले मलेशिया जान श्रमस्वीकृति लिएको देखिएको छ ।
खाडी राष्ट्रमा बंगलादेशी र पाकिस्तानी कामदारलाई कडाइ गरिएका कारण धेरै नेपाली ती देश जाने बाटो खुलेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
गत साउनमा यूएईले बंगालदेशी कामदारका लागि भिसा लिन कडाइ गरेको थियो । केही बंगलादेशी कामदारले प्रदर्शन गरेपछि भिसामा कडाइ गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । त्यसैगरी यूएई, साउदी अरबलगायत विभिन्न देशले पाकिस्तानीलाई भिसामा कडाइ गरेका समाचार पनि हालै आएका छन् । खासगरी, पाकिस्तानीले भिखारी भएर माग्दै हिँडेका कारण कडाइ गरिएको समाचार आएको छ ।
धेरैजसो नेपाली कामदार निर्माण क्षेत्रमा गइरहेको भण्डारीले बताए । चालू आर्थिक वर्ष (आव) को मङ्सिरसम्म वैदेशिक रोजगारीमा जानेको संख्या ३ लाख १७ हजार पुगेको देखिन्छ । गत आवको ५ महीनामा २ लाख ७८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए । नेपालीहरू वैदेशिक रोजगारीमा जाने क्रम उल्लेख्य बढेसँगै मुलुकमा विप्रेषण आउने क्रमसमेत ह्वात्तै बढेको छ ।
चालू आवको पहिलो ४ महीनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गतवर्षको तुलना यस अवधिमा ९ दशमलव १ प्रतिशतले विप्रेषण बढेको राष्ट्र बैंकको ताजा तथ्यांकले देखाउँछ । गतवर्षको पहिलो चौमासमा विप्रेषण आप्रवाह २२ दशमलव ५ प्रतिशतले बढेको थियो । यिनै देशबाट नेपालमा ७० प्रतिशतभन्दा बढी विप्रेषण भित्रिने गरेको विभागका अधिकारी बताउँछन् । ‘विप्रेषणको ठूलो अंश खाडी मुलुकबाट आइरहेको छ,’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ मुलुकभित्र बढ्दो राजनीतिक किचलो, निराशा र लगानीको वातावरण अझै पनि नबन्दा दिन प्रतिदिन विदेशिनेको संख्या ठूलो मात्रामा बढेको बताउँछन् । उनका अनुसार काम गर्न सक्ने ठूलो जनशक्ति राज्यले दिन प्रतिदिन गुमाइरहेको छ । युवा जनशक्तिलाई स्वदेशमै राख्न सरकारले ठूला योजना ल्याएर कार्यान्वयन गर्न जरुरी रहेको उनले बताए ।
छरिएर रहेका रोजगारीसम्बन्धी कार्यक्रमलाई समेत एकीकृत गराई राज्यले रोजगारी दिलाउनुपर्ने उनले बताए । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणसमेत अनुत्पादक क्षेत्रमा ठूलो मात्रामा खर्च भइरहेको र त्यसलाई रोकेर उत्पादनमूलक क्षेत्रमा लगाउन जरुरी रहेको गुरुङको भनाइ छ ।