काठमाडौं । कुखुराको अण्डाको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अचेल एउटा अण्डाको उपभोक्ता (खुद्रा) मूूल्य २५ रुपैयाँसम्म पुगेको छ । उत्पादन घटेर बजार मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको कुखरापालक बताउँछन् । त्यसमाथि खुद्रा व्यापारीले तोकेको मूल्यमा नबेचेर आफूखुशी साढे २ रुपैयाँ बढी लिँदा उपभोक्ता एउटै अण्डालाई २५ रुपैयाँ तिर्न बाध्य भएका छन् ।
नेपाल लेयर्स कुखुरापालक संघले तोकेको अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा २२ रुपैयाँ ५० पैसा हो । तर, खुद्रा व्यापारीले २५ रुपैयाँभन्दा कममा उपभोक्तालाई बेच्दैनन् । संघका अध्यक्ष विनोद पोखरेल भन्छन्, ‘संघले तोकेको मूल्यभन्दा १ रुपैयाँ पनि बढी लिनु कालोबजारी हो । त्यसरी बेच्ने व्यापारीलाई वाणिज्य विभागले कारबाही गर्नुपर्छ ।’
- प्रतिगोटा २५ रुपैयाँसम्म तिर्छन् उपभोक्ता
- पाँच वर्षपछि बल्ल लागत मूल्य पाएको कुखुरापालकको दाबी
पोखरेलका अनुसार अण्डाको उत्पादन घटेका कारण बजार मूल्य बढेको हो । ‘६ वर्ष अघिसम्म नेपालमा दैनिक ५५ लाख गोटासम्म अण्डा उत्पादन हुन्थ्यो । त्यो घटेर अहिले २४ देखि २५ लाखमा सीमित भएको छ,’ पोखरेलले भने, ‘यही बेला माग बढेकाले मूल्य वृद्धि भएको हो ।’ उनका अनुसार गर्मीको तुलनामा जाडोमा अण्डा खपत पनि बढ्ने गर्छ ।
संघले ठूलो अण्डाको मूल्य प्रतिक्यारेट ५१५ र मध्यमको प्रतिक्यारेट ५०० रुपैयाँ तोकेको छ । यो किसानले पाउने मूल्य हो । व्यापारीसम्म पुग्दा प्रतिक्यारेट ठूलो अण्डाको मूल्य ६०० र मध्यमको ५८५ रुपैयाँ हुन्छ ।
संघका अनुसार अहिले एउटा अण्डा उत्पादन गर्दा १६ रुपैयाँ ५७ पैसा लागत पर्न जान्छ । कुखुरापालकले पाउने मूल्य प्रतिअण्डा १७ रुपैयाँ १६ पैसा हो । ढुवानी खर्च र ढुवानीका क्रममा फुट्ने/बिग्रने हुँदा उक्त खर्चसमेत जोडिएर व्यापारीकहाँ पुग्दा एउटा अण्डाको मूल्य २० रुपैयाँ हुन आउँछ । संघका पदाधिकारीहरू उपभोक्ताले २२ रुपैयाँ ५० पैसामा अण्डा किन्न पाउनुपर्ने बताउँछन् ।
तर, उपभोक्ताले २५ रुपैयाँभन्दा घटीमा किन्न पाएका छैनन् । त्यसकारण कतिपयले अण्डाको मूल्यवृद्धिलाई अस्वाभाविक मानेका छन् । अहिले खुद्रा किन्दा एउटा अण्डालाई २५ रुपैयाँसम्म र प्रतिक्यारेट ६७५ रुपैयाँसम्म तिर्नुपरेको एक उपभोक्ताले बताए ।
कुखुरापालक तथा अण्डा उत्पादकहरूले भने भाउ बढेको नभई कृषकले लागत मूल्य पाउन थालेको र ५ वर्षअघिको अवस्थामा मूल्य पुगेको बताएका छन् । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले धेरै वर्षपछि किसानले अण्डाको लागतअनुसार मूल्य पाएको बताए ।
संघका अध्यक्ष पोखरेलले ५ वर्षदेखि किसानले अण्डाको लागत मूल्य पनि नपाएको र यसपालि पहिलोपटक पाएको दाबी गरे । सोही कारण पछिल्लो ५ वर्षमा अधिकांश कुखुरापालक विस्थापित भएको उनको दाबी छ । पछिल्लो केही सातामा अण्डाको मूल्य अस्वाभाविक रूपमा बढिरहेको बारे उपभोक्ताले वाणिज्य विभागमा समेत गुनासो गरेको विभागका सूचना अधिकारी डिकबहादुर कार्कीले बताए ।
विभागले कुखुरापालक तथा अण्डा उत्पादक किसानसँग छलफल गर्दा दानाको भाउ वृद्धि, जाडोमा बिजुलीको खपत वृद्धि र चिसोका कारण कुखरा मरेकाले लागत नै बढ्दा अण्डाको मूल्य वृद्धि भएको किसानले जानकारी गराएको कार्कीले बताए । विभागले मूल्य घटाउनेबारे किसानसँग छलफलसमेत गरेको उनको भनाइ छ ।