काठमाडौं । देशका अधिकांश महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालू वर्षको तुलनामा बढाएर बजेट ल्याएका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार असार १० भित्र स्थानीय तहले नगरसभामा आगामी आवको बजेट पेश गर्नुपर्ने हुन्छ ।
सोहीअनुसार देशका ६ ठूला महानगरले तोकिएको समयभित्रै बजेट ल्याएका छन् । वीरगञ्ज महानगरपालिकाले असार ८ गते बजेट ल्याएको थियो भने अरू ५ महानगरले सोमवार पेश गरेका छन् ।मुलुककै सबैभन्दा ठूलो काठमाडौंसहित ललितपुर, भरतपुर, विराटनगर र पोखरा महानगरले बजेट बढाएका छन् । वीरगञ्जको बजेट घटेको छ ।
काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले १५औं नगरसभामा आगामी आवका लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रुपैयाँको बजेट पेश गरिन् । चालू वर्षका लागि काठमाडौंले २५ अर्ब ५४ करोडको बजेट ल्याएको थियो । स्थानीय स्रोतसाधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरीबी निवारण गर्ने, समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने, सामाजिक सद्भाव र एकता अभिवृद्धिमा सघाउ पुर्याउने र स्वरोजगार बनाई विदेशिने दर घटाउनेलगायत विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपमेयर डंगोलले बताइन् ।
बजेटमा ११ ओटा महानगर गौरवको आयोजनालाई ३ अर्ब ८० करोड छुट्ट्याइएको छ । यस्तै ३० ओटा स्वर्णिम योजनाका लागि बजेट छुट्ट्याइएको छ । पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी छुट्ट्याइएको छ । सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी र सुशासनका लागि १ अर्ब ८९ करोडभन्दा बढी विनियोजन गरिएको छ । सञ्चित कोषमा २४ अर्ब २० करोड आम्दानी हुने अनुमान गरिएको छ ।
ललितपुरको ७ अर्ब ४६ करोड
ललितपुर महानगरपालिकाले आगामी आव २०८१/८२ का लागि चालू वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ । उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले सोमवार नगरसभा बैठकमा ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् । अगामी आवको बजेट चालू वर्षको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले बताइन् । ललितपुर महानगरले विश्वसम्पदा क्षेत्रभित्र भवन सम्पदा नियम पालना गरी निर्मित घरहरूको सम्पत्ति कर मिनाहा गर्ने भएको छ । त्यसैगरी विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छूट मागेमा ५ प्रतिशत कर छूट दिने भएको छ ।
भरतपुरको ६ अर्ब ५५ करोड
भरतपुर महानगरपालिकाले आगामी आव २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमवार नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गरे । यो बजेट चालू आवको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो ।
चालू आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजना समयमै सम्पन्न गर्न १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । हरेक वडाको सन्तुलित विकासका लागि २ प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरिएको उनले बताए । वडालाई न्यूनतम २ करोड ७४ लाख २८ हजार रुपैयाँ र अधिकतम २ करोड ९० लाख २ हजार रुपैयाँ गरी वडास्तरीय आयोजनामा जम्म ८२ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
पोखरामा ७ अर्ब ५१ करोड
पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले आगामी आव २०८१/८२ का लागि ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरिन् । यो बजेट चालू वर्षको भन्दा ४३ करोड रुपैयाँ बढी हो । पोखराले चालू आवमा ७ अर्ब ८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।
आगामी वर्ष पोखराले ५० लाखभन्दा बढीको योजनामा अनिवार्य प्रतिस्पर्धात्मक खरीद विधि अपनाउने, बेरुजु फस्र्योट नगरेका उपभोक्ता समितिलाई नयाँ योजनाको समितिमा नराख्ने, योजनाहरूमा चैत मसान्तसम्म सम्झौता वा ठेक्का लगाएर जेठ मसान्तभित्र काम सक्नुपर्ने नीति लिएको छ । यस्तै, पूँजीगततर्फको बजेट चालूमा रकमान्तर नगर्ने भएको छ ।
विराटनगरको ३ अर्ब ४९ करोड
विराटनगर महानगरपालिकाले आव २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । महानगरको १४औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले चालू वर्षको संशोधित बजेटभन्दा १३ करोड ८१ लाख २१ रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरिन् । कार्कीले लक्ष्यअनुसार महानगरको आम्दानी हुन नसकेको र आर्थिक संकटका कारण आगामी वर्षको नीति तथा कार्यक्रममा महानगरले नयाँ कार्यक्रम थप्न नसकेको बताइन् ।
वीरगञ्जको ६२ करोड घट्यो
वीरगञ्ज महानगरपालिकाले आगामी आव २०८१/८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरका उपप्रमुख इम्तियाज आलमले शनिवार नगरसभाको १५औं अधिवेशनमा चालू आवको भन्दा ६२ करोड कम आकारको बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आवको बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातावरण संरक्षणलाई राखिएको छ । साथै बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखिएको छ । उपप्रमुख आलमले महानगरले आगामी आवको बजेटमा स्थानीय कर प्रणालीलाई उत्पादन अभिवृद्धि र सामाजिक न्याय प्रवर्द्धन गर्नेतर्फ उन्मुख गरिएको बताए ।
(विराटनगरबाट वेदराज पौडेल र वीरगञ्जबाट ओमप्रकाश खनालको सहयोगमा)