काठमाडौं। सरकार र यातायात व्यवसायीहरू सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बन्द नगर्ने तर बाटोको अवस्था हेरेर यस विषयमा निर्णय लिने जिम्मा व्यवसायीलाई दिन सहमत भएका छन् । भारी वर्षा रोकिए पनि उपत्यकाबाट बाहिरिने मुख्य राजमार्गहरूमा पहिरो जाने क्रम कायमै रहेको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्न चाहेका थिए ।
यातायात व्यवसायीले अहिलेको विषम परिस्थितिमा कुनै पनि हालतमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्य पुर्याउन नसकिने बताएपछि मंगलवार यातायात व्यवस्था विभागले उनीहरूलाई बोलाएर छलफल गरेको थियो ।
विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदूर संगठन, उपत्यका प्रहरी प्रभागलगायत सरोकारवाला निकायको बैठकले अग्रिम टिकट बुकिङ बन्द नगर्ने तर बाटोको अवस्था बुझेर मात्रै टिकट काट्ने निर्णय गरेको हो । यसपालिको चाडपर्वका लागि असोज १२ देखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । सोही बेला देशका विभिन्न भागमा आएको बाढीपहिरोले राजमार्गहरूमा अवरोध खडा भएपछि अग्रिम टिकट बुकिङ गरेका यात्रु पनि जान पाएनन् ।
जल तथा मौसम विज्ञान विभागले बुधवारबाट फेरि पानी पर्ने भाविष्यवाणी गरेकाले यातायात व्यवसायीहरू अग्रिम बुकिङलाई निरन्तरता दिने/नदिनेमा अन्योलग्रस्त थिए । मंगलवार सरोकारवालाको बैठकले मध्यमार्गी विकल्प अपनाउने निर्णय गरेको बैठकमा उपस्थित एक प्रतिनिधिले जानकारी दिए ।
विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले सडकको अवस्था बुझेर मात्रै अग्रिम टिकट काट्न व्यवसायीलाई अनुरोध गरिएको बताए । असहज परिस्थितिको सास्तीबाट यात्रुलाई जोगाउन र सम्भावित मानवीय क्षति रोक्न यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
सरोकारवालाले गरेको निर्णयमा भनिएको छ, ‘अविरल वर्षाले सडक ठाउँठाउँमा अवरुद्ध रहेको र जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानले समेत अझै केही दिन वर्षा हुने प्रक्षेपण गरेकाले अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिइनेछ ।
गन्तव्य स्थलसम्म पुर्याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चितता हेरेर मात्र सम्बद्ध रूटको अग्रिम टिकट काट्न व्यवसायीलाई अनुरोध गरिनेछ ।’
- अग्रिम टिकट लिएका यात्रु पनि सडक अवरुद्ध भएपछि गन्तव्यमा जान पाएनन्
- पहिरो जाने क्रम नरोकिएकाले अग्रिम बुकिङ बन्द गर्ने लबिङमा यातायात व्यवसायी
- बुधवारबाट फेरि ठूलो वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान
- मुग्लिङ–नारायणगढ सडक खण्डमा राति सवारीसाधन नचलाउन आग्रह
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको सडकको अवस्था र यातायात क्षेत्रको अस्तव्यस्ततालाई सरकारले व्यवस्थापन गर्न नसकेका कारण यात्रुलाई गन्तव्य पुर्याउन नसकिने हो कि भन्ने आशंका कायमै रहेको बताए । ‘त्यसैले टिकट बुकिङ रोक्नुपर्ने हाम्रो धारणा थियो । तर, सरोकारावालाहरू सबैको बैठकले टिकट बुकिङ नै रोक्नेभन्दा पनि परिस्थिति हेरेर सोहीअनुसार टिकट काट्ने निर्णय भएको छ,’ उनले भने । महासंघका अनुसार बाढी पहिरोका कारण अहिले पनि बिपी राजमार्ग ठप्पै छ । त्यहाँ ६०० सवारीसाधन रोकिएका छन् । सवारीचालकले खान नपाएको भनेर फोन गरिरहे पनि उनीहरूलाई खाना पुर्याउन नसकिएको अवस्था छ ।
निर्णयअनुसार काठमाडौंबाट छुट्ने यात्रुवाहक बशहरूले हाल जोखिमयुक्त रहेको काठमाडौं–नारायणगढ सडक खण्डको अवस्थालाई दृष्टिगत गर्दै काठमाडौंबाट सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालोमै नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्नुपर्नेछ । सुरक्षा निकायले सोहीअनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेछ ।
असार २८ गते मुग्लिङ–नारायणगढ खण्डको सिमलतालमा गएको पहिराले दुईओटा बसलाई सोहोरेर त्रिशूली नदीमा पुर्याएको थियो । ती दुई बसमा ६८ जना सवार रहेकोमा ३ जनाले पौडेर ज्यान जोगाएका थिए । केही यात्रुको लास भेटिए पनि अधिकांश बेपत्ता छन् । दुईओटै बस अहिलेसम्म भेटिएको छैन ।
त्यसैगरी मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र सवारी चलाउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय भएको छ ।