काठमाडौं । गत साताको अन्तिम २ दिन भारी वर्षासँगै आएको बाढीपहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारले जानकारी दिएको छ ।
सरकारी अधिकारीहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोले अर्थतन्त्रका विभिन्न क्षेत्रमा असर गरेको छ । क्षतिको प्रारम्भिक प्रतिवेदनअनुसार सबैभन्दा ठूलो क्षति कृषिक्षेत्रमा भएको छ । ऊर्जा, खानेपानी, सडक र सिँचाइ पूर्वाधारमा पनि ठूलै क्षति भएको छ ।
कृषिक्षेत्रमा मात्र ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । ऊर्जाक्षेत्रमा ४ अर्ब रुपैयाँ बराबर क्षति भएको प्रधानमन्त्रीको कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सञ्चालनमा रहेकामध्ये ६६७ दशमलव ९३ मेगावाट जडित क्षमताका १६ ओटा जलविद्युत् आयोजना, ११३९ दशमलव १९ मेगावाट जडित क्षमताका १८ ओटा निर्माणाधीन जलविद्युत् आयोजना र पाँचओटा प्रमुख प्रसारण टावरमा क्षति भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ३१२ साइटमा क्षति भएको छ ।
- बाढीपहिरोबाट २२४ जनाको मृत्यु, १५८ जना घाइते, अझै २४ जना बेपत्ता
- खोज तथा उद्धार कार्य २ दिनभित्र सकिने, राहत वितरण एकद्वार प्रणालीमार्फत
- स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता
- घरबारविहीन भएकालाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने
सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे मंगलवार दिएको जानकारीअनुसार कृषिक्षेत्रमा सबैभन्दा धेरै क्षति भएको अनुमान भए पनि कृषि बालीमा भएको क्षतिको विवरण १ महीनाभित्र तयार पारिनेछ ।
भौतिक संरचनाको अलावा बाढीपहिरोबाट ठूलो माननीय क्षति भएको सरकारको भनाइ छ । अर्यालले दिएको जानकारीअनुसार मंगलवारसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता छन् । १५८ जना घाइते भएका छन् ।
खोज तथा उद्धार कार्य २ दिनभित्र सक्ने र राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना रहेको उनले सुनाए । अर्यालका अनुसार खोज तथा उद्धार कार्यमा ३० हजार ७३१ सुरक्षाकर्मी परिचालन गरिएको छ । तत्काल उद्धारका लागि हेलिकोप्टरसमेत प्रयोग भएको छ । घरबारविहीन भएकाहरूलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्यसचिव अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार बाढीपहिरोबाट २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर बढी प्रभावित भएका छन् । अर्यालले अवरुद्ध भएका राजमार्ग तत्काल अस्थायी रूपमा सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको समेत बताए ।
उनका अनुसार विपद्मा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि लाभग्राही पहिचान गरी तत्कालै अनुदान रकम वितरण गरिनेछ । बाढीपहिरोबाट अवरुद्ध भएका मुलुकभरका रणनीतिक सडकहरूलाई थप तदारुकताका साथ यथाशीघ्र सुचारु गरिनेछ । अवरुद्ध सडक खोल्ने र पुल बगेका महत्त्वपूर्ण सडकमा बेलिब्रिज जडान गरिने अर्यालले बताए ।
सम्भाव्यताका आधारमा कजवे, डाइभर्सनजस्ता वैकल्पिक माध्यमबाट तत्काल यातायात सुचारु गर्ने प्रबन्ध गरिँदै छ । अवरुद्ध भएको टेलिफोन एवं विद्युत् सेवा सुचारु गर्न क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं पुन:स्थापना कार्य भइरहेको तथा यसलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरिने अर्यालले बताए । सरकारले उत्पादन अवरुद्ध भएका विद्युत्गृह पुन: सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइने बताएको छ
मुख्यसचिव अर्यालका अनुसार सामान्य प्रकृतिका क्षतिको हकमा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याउने तयारी छ । क्षतिग्रस्त विद्युत् प्रसारण लाइनका संरचनालाई इमर्जेन्सी रेस्टोरेशन टावरमार्फत प्रतिस्थापन गर्न, विपद्पश्चात् हुन सक्ने अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न निजीक्षेत्रसमेतको समन्वयमा बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउन तथा चाडपर्वका बेला सर्वसाधारणको यात्रा सहज र सुलभ बनाउन निजीक्षेत्रका सम्बद्ध व्यवसायीसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात सेवाको व्यवस्था मिलाउन सरकार लागिरहेको अर्यालले जानकारी दिए ।
बाढीपहिरोबाट अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी संरचना तत्काल मर्मतसम्भार गरी पुन:स्थापना गर्ने, विपद्पश्चात् फैलिन सक्ने रोगको रोकथाम तथा नियन्त्रण गर्ने, यसको लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रभावित क्षेत्रमा आवश्यकतानुसार स्वास्थ्य शिविर सञ्चालन गर्ने सरकारी तयारी छ ।
- विपद्को पूर्वतयारी नभएको प्रधानमन्त्रीको स्वीकारोक्ति
भारी वर्षा र त्यसले निम्त्याएको विपत्सँग जुध्न सरकार असफल भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपद्को पूर्वतयारी नगरेको स्वीकार्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारी अधिकारी र मन्त्रीहरूलाई सँगै राखेर गरेको पत्रकार सम्मलेनमा उहाँले यति ठूलो विपत्को पूर्वतयारी सरकारले नगरेको बताउनुभयो । ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन,’ उहाँले भन्नुभयो, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’ भारी वर्षा हुन सक्छ भन्ने जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा अरू बेलाजस्तै पूर्वतयारी गरेको प्रधानमन्त्रीको भनाइ छ । बाढीपहिरो आएका बेला प्रधानमन्त्री ओली अमेरिकामा हुनुहुन्थ्यो । विपत्तिमा समेत भ्रमण छोट्ट्याएर स्वदेश नफर्केको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना
भइरहेको छ ।
ओलीले विपद् आइसकेपछि सरकारले राहत तथा उद्धारमा सक्दो काम गरेको दाबीसमेत गर्नुभयो । ‘केही गर्दै नगरेको होइन, सक्दो गरेको छ । केही कमजोरी भएको हुन सक्छ,’ सबैतिर समस्या भएकाले एकातिर प्राथमिकता दिँदा अर्कोतिर ढिला भएको हुन सक्ने भन्दै उहाँले थप्नुभयो, ‘जानीजानी लापरबाही त कसरी भयो होला र ?’ अहिले कमी कमजोर देखाउनेभन्दा राहत तथा पुनर्निर्माणमा जुट्ने बेला भएको उहाँले बताउनुभयो । ‘जनताले भोगिरहेको पीडामा उद्धार, राहत सहयोग र पुनर्निर्माणका कामहरू गर्ने हो,’ उहाँले भन्नुभयो, ‘यो साझा राष्ट्रिय पीडा हो । एक भएर सामना गर्नुपर्छ ।’
- अस्थायी आवासका लागि तत्काल २५ हजार रुपैयाँ
गृहमन्त्री रमेश लेखकले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तास्वरूप तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइने बताएका छन् । ‘स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको छ,’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले भने । उनका अनुसार प्रभावितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्डअनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ । अहिले अस्थायी आवासका लागि रकम पाएकाले पछि स्थायी आवासका लागि समेत सहयोग पाउनेछन् । यसबारे पछि निर्णय लिइनेछ ।
बाढीपहिरो र डुबानपछि उद्धार, बेपत्ताको खोजी, पीडितलाई राहत र अवरुद्ध सडक सञ्चालन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको गृहमन्त्री लेखकले बताए ।
बैठकपछि संसदीय समितिले हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्न तत्कालै सडकहरू मर्मतको लागि सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलवारको बैठकले सरकारलाई सम्भव भएका सबै उपाय प्रयोग गरेर राहत र पुन:स्थापनाको काम तदारुकतासाथ अगाडि बढाउन भनेको छ ।
‘हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्न, भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच नभएका जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, खानेकुराको मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ,’ मंगलवार समितिले गरेको निर्णयमा भनिएको छ ।
समितिले विभिन्न जिल्लामा अलपत्र परेका यात्रीलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक सबै तयारी गर्न पनि भनेको छ । ‘वर्षाका कारण नष्ट भएका सिँचाइ कुलाहरू, पिउने पानी, विद्युत्, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र घाइतेको औषधि उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने’ समितिको निर्णयमा छ ।