दुई दिनको अविरल वर्षाबाट आएको बाढी र पहिराले मुलुकका प्राय: सबै राजमार्गहरू बन्द भएका छन् । राजधानी काठमाडौं नै अहिले सम्पर्कविहीन छ भन्दा हुन्छ किनभने यससँग जोडिएका प्राय: सबै सडक बन्द छन् । सडक बन्द भएपछि त्यसको सीधा असर जनजीविका, उद्योगव्यवसाय र अर्थतन्त्रमा पर्छ । त्यतिमात्र होइन, बाढीपहिरोबाट घाइते भएकाहरूलाई उपचारका लागि लैजान पनि सडक अनिवार्य हुन्छ । त्यसैले सरकारको पहिलो प्राथमिकता बाढीपीडितको उद्धार तथा पुन:स्थापनाका अतिरिक्त सडक सुचारू गराउनु हुनुपर्छ । विपद्पछिको पहिलो कार्य भनेको उद्धार हो । पानी पर्न कम भएकाले र बाढी घटेकाले उद्धारका लागि सरकार पूर्ण रूपमा खट्नुपर्ने अवस्था छैन । उद्धारपछिको अर्को काम पीडितहरूको पुन:स्थापना हो । यी काम प्राथमिकतामा पर्छ तर अहिले सडक सञ्जाल बन्द हुँदा मुलुक नै ठप्प भएको छ । सडक टुट्दा एम्बुलेन्स पास हुन नसकेर त्यसमै घाइतेको ज्यान जानु भनेको निकै गम्भीर र दु:खद अवस्था हो ।अहिले मुलुकभरिका सडकहरू पुल बगाएर, पहिरोले सडक बगाएर र क्षति पुर्याएर अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउँछ । अहिले नै काठमाडौंमा तरकारीको भाउ अचाक्ली बढेको छ । चाँडै नै सडक सुचारू भएन भने खाद्यान्नहरूको मूल्य पनि बढ्न सक्छ ।
अहिले तातोपानी नाकाबाट सामान आयात गर्न सकिएको छैन । पुल बगाएपछि सामान आयात गर्न नसकिएको हो । चीनमा नै कन्टेनर रोकिएकाले स्याउलगायत वस्तु कुहिने सम्भावना छ । दशैंतिहारजस्ता ठूला चाडपर्व मुखैमा छ । मुलुकको कुल व्यापारको झन्डै ४० प्रतिशत व्यापार यही चाडमा हुने व्यवसायीको भनाइ छ । तर, सडक अवरुद्ध हुँदा यी वस्तुको सहज ढुवानी हुन सक्दैन । त्यसले अहिलेको सुस्त अर्थतन्त्रलाई झनै सुस्त बनाउन सक्छ । अहिले धेरैको घरमा क्षति पुगेको छ । बाढीले पुर्याएको क्षति कति हो भन्ने तथ्यांक संकलन भइसकेको छैन । यसले नेपालीलाई थप गरीबीमा धकेल्न सक्छ । एकातिर बजारमा तरकारीको भाउ बढेको छ भने अर्कातिर किसानले तरकारी विक्री गर्न नपाएर पनि समस्या छ । यसरी सडक सञ्जाल बन्द हुँदा मुलुकभरिका गतिविधि ठप्प अवस्थामा छन् । यसलाई सञ्चालन गर्न युद्धस्तरमा सरकारले काम थाल्नु आवश्यक छ । तर, सरकार अन्योलमा रहेको देखिन्छ । फटाफट काम गर्नुपर्नेमा सर्वदलीय बैठक बसिरहेको छ । यो भनेको उसले आफूले गर्ने कामबारे स्पष्ट नहुनु नै हो ।
त्यसैले कुनकुन सडक खण्डमा के कति क्षति भएको छ र तिनलाई तत्काल सञ्चालनमा ल्याउन केके गर्नुपर्छ भनेर सरकारले काम थाल्न ढिला भइसकेको छ । आइतवार झरी नपरेको स्थितिमा यसमा ढिलाइ गर्नु हुन्न । अर्को तत्काल स्थायी पुल बनाउन नभ्याइन सक्छ । अस्थायी पुल बनाएर सवारीसाधन चल्ने अवस्था बनाइनुपर्छ । अर्को, अहिले पहिरो बढी जानुमा जथाभावी सडक खनिनु एउटा कारण हो । त्यस्तै सडक विस्तार गर्दा जमिसकेको बाटो खोस्रने काम भएको छ । त्यही भएर जहाँ जहाँ यस्ता काम भएका छन् ती ठाउँमा पहिरोले बढी क्षति पुर्याएको छ । अब सडक बनाउँदा जथाभावी नबनाई पर्याप्त अध्ययन गरेर मात्रै बनाउने नीति तय गरिनुपर्छ । डोजर चालकलाई इन्जिनीयर बनाउँदाको परिणति अहिले मुलुकले भोगिरहेको छ । नेपालजस्तै भौगोलिक बनोट भएको भारतका प्रदेशमा नेपालमा जस्तो पहिरोको समस्या चर्को छैन । यसले पनि नेपालको सडक निर्माणमा समस्या छ भन्ने देखाउँछ । अत: तत्कालका लागि सडक सुचारू गर्न सरकारले आफ्नै क्षमता तत्काल परिचालन गर्न आवश्यक छ भने सडक निर्माणमा दीर्घकालीन उचित नीति बनाउनेतर्फ पनि ध्यान दिनु जरुरी छ ।