काठमाडौं । भष्ट्राचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को संशोधन गर्न बनेको विधेयकमाथि गैरआवासीय नेपाली संघले आपत्ति जनाएको छ । संसद्मा विचाराधीन ऐनको मस्यौदामा अख्तियारको दायरा विस्तार गरि निजी क्षेत्र सहित गैरआवासीय नेपाली संघ समेतलाई आयोग मातहतमा ल्याउने प्रस्ताव परेपछि संघले राज्य व्यवस्था तथा सुशासन समितिलाई पत्र लेख्दै आपत्ती जनाएको हो ।
'नेपाल सरकारले मस्यौदा तयार गरि सम्मानित संसद्मा पेश भई हाल समितिमा विचाराधीन रहेको भष्ट्राचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को संशोधन गर्न बनेको विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समितिमा उपलब्ध गराइएको सुझावप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,' संघको पत्रमा उल्लेख छ ।
विश्वभरका गैरआवासीय नेपालीहरु एकै सञ्जालमा एकत्रित भई राष्ट्र विकास र समृद्धिका लागि नेपालमा लगानी गर्न आकर्षित भइरहँदा गैरआवासीय नेपाली समेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा पनि समावेश गर्ने प्रावधानले गैरआवासीय नेपालीहरू लगानी गर्न निरुत्साहित हुने महासंघको भनाइ छ ।
सरकारका अन्य नियमनकारी संस्थाहरूले आवश्यक निगरानी राख्ने प्रावधान हुँदाहुँदै आयोगको क्षेत्राधिकारमा समेट्ने सम्बन्धी ऐन एवं प्रावधानलाई पुनर्विचार गरी संशोधन सहित स्वतन्त्र र निर्धक्क भई हातेमालो गर्ने वातावरण निर्माण गरिदिन महासंघले आग्रह समेत गरेको छ ।