पेट्रोलियम अन्वेषणका लागि अनुमति लिएर पनि काम अघि नबढाएका दुई विदेशी कम्पनीसँग खानी तथा भूगर्भ विभागले निर्णायक छलफल गर्ने भएको छ । एक दशकअघि पेट्रोलियम अन्वेषणको लाइसेन्स लिएर पनि काम नगर्ने अमेरिकी कम्पनी टेक्साना रिसोर्सेज र बेलायती कम्पनी केयर्न इनर्जीसँग विभागले आगामी सेप्टेम्बरमा निर्णायक छलफल गर्ने भएको हो ।
‘हामीले दुईओटै कम्पनीलाई चिठी पठाएर निर्णायक छलफलका लागि बोलाएका छौं,’ विभागका महानिर्देशक सर्वोजितप्रसाद महतोले भने, ‘सेप्टेम्बरमा हुने सोही छलफलले उनीहरूको लाइसेन्स खारेजी गर्ने वा अन्वेषणलाई निरन्तरता दिने भन्ने टुङ्गो लाग्नेछ ।’ ती दुवै कम्पनीले फोर्स मेजर (काबुबाहिरको परिस्थिति) सम्बन्धी प्रावधान लगाएर काम अघि बढाएका छैनन् ।
यसअघि सरकारले एकदेखि सातसम्मका ब्लकहरू केयर्न इनर्जी र टेक्साना रिसोर्सेजलाई अन्वेषणका लागि स्वीकृति दिएको थियो । केयर्नले ब्लक नम्बर एक धनगढी, दुई कर्णाली, चार लुम्बिनी, ६ वीरगञ्ज र सात मलङ्गवा गरी पाँचओटा ब्लकमा अन्वेषण गर्न सन् २००४ मै स्वीकृति लिएको थियो ।
त्यस्तै, टेक्साना रिसोर्सेजले ब्लक नम्बर तीन नेपालगञ्ज तथा चितवनमा अन्वेषणका लागि सन् १९९८ मा स्वीकृति लिएको थियो । तर, केयर्नले सन् २००५ देखि र टेक्सानाले २००३
देखि काबुबाहिरको परिस्थितिको कारण देखाउँदै अन्वेषणको काम गरेको छैनन् । वर्ष ७, अंक ३३९, मंगलवार ५ भदौ, २०६९