पलेशा गोवद्र्धनले फ्रान्सको पेरिसमा २८ अगस्त देखि ८ सेप्टेम्बरसम्म चलेको पारालम्पिक्स खेलमा नेपालका लागि मुख्य प्रतिस्पर्धामा कास्य पदक लिएर भदौ १९ गते नेपाल आउँदा विभिन्न संघसंस्था तथा आमजनताले भव्य स्वागत गरेको दृश्य त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलबाट काठमाडौंका विभिन्न ठाउँमा देखियो । प्रधानमन्त्रीले उनलाई रू. ६५ लाख राज्यका तर्फबाट दिएको दृश्यले विश्वमञ्चमा नेपाल र नेपालीले पनि केही गर्न सक्छन् भन्ने देखायो । यो मात्र एउटा पदक होइन, यो घटनाले नेपालीहरू पनि उचित प्रशिक्षण पाएमा विश्व विजेतासमेत बन्न सक्छन् भन्ने बृहत् चेत हो । साथै सूक्ष्म रूपमा हेर्दा प्रत्येक व्यक्तिमा आत्मबल बढाउने प्रतीकात्मक सञ्जीवनी पनि हो । यो पदक भदौ १५ गते जितिएको थियो ।
पारालम्पिक खेलको शुरुआत सन् १९६० मा भए तापनि यसको पृष्ठभूमि सन् १९४८ मा बेलायतका लुडविन गुट्टविलले गरेको पाइन्छ । उनले दोस्रो विश्वयुद्धमा रिढको हाँड भाँचिएका १६ जना सैनिकको आत्मबल बढाउन स्टोमैन्डविले भन्ने ठाउँमा एउटा खेल आयोजना गरे । ४ वर्षपछि यो स्पर्धामा हल्यान्डका त्यस्तै खेलाडी पनि सामेल भएपछि यही क्रमले शारीरिक अपांगता भएका व्यक्तिलाई पनि मनोरञ्जन चाहिन्छ, आत्मबल चाहिन्छ बाँच्ने आधार चाहिन्छ भन्ने विषयले आफ्नो परिसर फराकिलो बनाउँदै लग्यो । यस कुरालाई ओलम्पिक समितिले पनि समर्थन गरेर यो खेलको सन् १९६० मा पहिलोपटक थालनी भएको हो । त्यतिबेला २३ देशका ४०० विकलांग खेलाडीले ८ विविध खेलमा भाग लिएका थिए ।
तयारीका लागि पनि हामीसँग केही तुलनात्मक लाभका पक्ष छन् । त्यसैले अगामी दिनमा खेलकुदलाई पनि एउटा आवश्यक विषय अगाडि बढाएर धेरैभन्दा धेरै युवालाई यस पेशामा आबद्ध गराउनुपर्ने देखिन्छ ।
पारालम्पिक्स शारीरिक रूपले विकलांग खेलाडीका लागि आयोजना गरिने खेल हो भने अर्को विशेष ओलम्पिक बौद्धिक रूपले कमजोर खेलाडीका लागि खेलिने ओलम्पिक हो । जुन १९७७ मा अमेरिकाबाट शुरू भएको थियो । यसरी शारीरिक रूपमा कमजोर र बौद्धिक रूपमा कमजोरका लागि पनि ओलम्पिक मञ्च बनेको छ । नेपाल आधिकारिक रूपमा सन् १९६४ देखि र कुनै तरीकाले १९५२ ओलम्पिक खेलमा आफ्नो संलग्नता देखाउँदै आएकोमा ले सन् १९८८ को सोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोमा कास्य पदक प्राप्त गरेका थिए तर प्रदर्शन खेल भएकाले त्यसलाई पदक तालिकामा समावेश गरिएन । यस अर्थमा पलेशाले पाएको पदक नेपालको पहिलो आधिकारिक ओलम्पिक पदक हो जुन पदक तालिकामा देख्न सकिन्छ ।
सन् १९५२ को हेलसिन्की ओलम्पिकमा नेपालको सहभागिता तालिकामा देखिँदैन तर स्वर्गीय कृष्णबहादुर बर्माले लेखेको पुस्तक जापानमा मैले के पाएँ भन्ने पुस्तकमा उनले त्यो खेलमा सहभागी भएको कुरा लेखेका छन् । उनलाई र नरशमशेर जबरालाई राजा त्रिभुवनले नै भाग लिन पठाएको भन्ने अर्को कुनै लेखमा पनि पढिएको छ । तर, यसको आधिकारिक पुष्टि नभएकाले टोकियो ओलम्पिक नै पहिलो ओलम्पिक हो जसमा नेपालको सहभगिता थियो । कुनै पनि स्पर्धामा विश्वलाई जित्नु सामान्य कुरा होइन । त्यस अर्थमा पलेशाले नेपालको शिर ठाडो बनाएकोमा देश गौरवान्वित छ ।
कुनै पनि ओलम्पिक खेलमा पदक तालिका हेर्ने हो भने टपटेन स्थानमा धनी मानिएका देश अमेरिका, चीन, जापान, बेलायतकै वर्चस्व देखिन्छ । यसपटकको पारालम्पिकमा पनि चीनले ९४ स्वर्णसहित २१६ पदक जितिसकेकाले पहिलो स्थान पाउने निश्चित छ । समर ओलम्पिकमा पनि अमेरिका प्रथम र चीन दोस्रो भएका थिए ।
किन आर्थिक रूपमा धनी देशहरू खेलकुदमा पनि सफल हुन्छन् भन्ने कुराको अध्ययन गरेर नेपालजस्ता देशले पनि खेलाडीहरूको तयारी र व्यवस्थापन गर्न सके विदेश पलायनको वर्तमान होड अलिकति भए पनि कम हुने थियो यसबारे सोच्नुपर्ने बेला आइसकेको छ ।
खेल भनेको मानिसको शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने आधार हो भने यसमा सफलता पाउन सकेमा पाइने सम्मान, आर्थिक पुरस्कार आदिले पनि खेलाडीको जीवनस्तरलाई माथि उठाउने भएकाले सबलांग, विकलांग र बौद्धिक कमजोरी भएका सबैलाई एउटा मापदण्डभित्र राखेर प्रशिक्षण दिने हो भने अबको १० वर्षमा नेपाली खेलाडीले पनि पदक मात्र होइन, पदकहरू पाउने अवस्था बन्न सक्छ । यसका लागि नयाँ तरीकाले तयारी हुन जरुरी छ ।
किन आर्थिक रूपमा धनी देशहरू खेलकुदमा पनि सफल हुन्छन् भन्ने कुराको अध्ययन गरेर नेपालजस्ता देशले पनि खेलाडीहरूको तयारी र व्यवस्थापन गर्न सके विदेश पलायनको वर्तमान होड अलिकति भए पनि कम हुने थियो । यसबारे सोच्नुपर्ने बेला आइसकेको छ ।
विश्वव्यापी रूपमा शारीरिक विकलांगहरूले बढीभन्दा बढी पदक पाउन सकून् भनेर ओलम्पिकमा भन्दा पारालम्पिकमा पदक संख्या पनि बढी हुन्छ । पेरिस ओलम्पिक २०२४ मा स्वर्ण पदकको संख्या ३२९ थियो भने पारालम्पिकमा स्वर्ण पदक संख्या ५४९ छ । भन्न खोजेको के भने सबैप्रकारको क्षमता भएका व्यक्तिलाई अवसर अनेक छन् । एउटा व्यक्तिको मात्र प्रयासभन्दा राज्यले खेलनीतिमार्फत ५ देखि १० वर्षको योजना बनाएर खेलाडी तयार पार्नुपर्ने देखिन्छ । ६० वर्षको ओलम्पिक इतिहासमा एउटामात्र पदक जित्नु सुखद विषय नभएकाले लक्ष्यउन्मुख खेलनीति बनाएर विश्वमञ्चमा नेपालको पनि स्थान बनाउन जरुरी देखिन्छ ।
नेपालमा अन्य विकसित देशको तुलनामा केही कुरामा राम्रो अवस्थामा छ । आज पनि विकसित देशको तुलनामा नेपालमा खाद्यान्न, तरकारी आदि सस्तो पाइन्छ । स्वास्थ बीमाले गर्दा नेपालमा उपचार अमेरिका र बेलायतमा भन्दा सस्तो छ । मुद्राको सटही दरले गर्दा तुलनात्मक रूपमा हाम्रो उत्पादन सस्तोमा विक्री गर्न सक्छौं । यस कारण १० वर्षे खेलाडी तयारी रणनीति बनाउँदा विकसित देशलाई भन्दा हामीलाई सस्तो पर्छ । एउटा आधारभूत विद्यालयको खर्चले १० वर्ष तयारी गर्ने हो भने नेपालले २०३२ को ओलम्पिक र पारालम्पिकमा केही पदक पाउन सक्ने अवस्था बन्छ ।
ओलम्पिकको तयारी गरिरहँदा पढाइ छोड्नुपर्ने वा अन्य कुनै जागीर छोडिहाल्नुपर्ने अवस्था हुँदैन । पलेशाले पनि चीनमा इन्जिनीयरिङ पढ्दापढ्दै यत्रो उपलब्धि प्राप्त गर्न सकिन् भने इच्छुक युवाहरूले रणनीतिक रूपमा दुवै कुरामा तयारी गर्न सक्छन् । अबका दिनमा सफलताको बाटो खुलेको छ, नेपालीले पदक जित्न सक्छ । तयारीका लागि पनि हामीसँग केही तुलनात्मक लाभका पक्ष छन् । त्यसैले अगामी दिनमा खेलकुदलाई पनि एउटा आवश्यक विषय अगाडि बढाएर धेरैभन्दा धेरै युवालाई यस पेशामा आबद्ध गराउनुपर्ने देखिन्छ ।
१० ओटा खेलमा तयारी गरेर एक दुईओटा मात्र स्वर्ण नेपालीले प्राप्त गर्न सक्ने हो भने विश्वले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण फेरिनेछ । खेलकुद यस्तो विषय हो जसमा जित वा हार हाम्रो आँखा अगाडि हुन्छ । पक्षपातको सम्भावना निकै कम हुन्छ धनी र गरीब देश भनी पक्षपात गर्ने सम्भावना पनि निकै कम हुन्छ । यस्तो मञ्चका लागि राष्ट्रिय तयारी उपलब्धिमूलक हुने भएकाले भदौ १५ को दिनलाई कोसेढुङ्गा मानेर अबको राष्ट्रिय खेलनीति फरक र व्यवस्थित होस् ।
केही दिनअगाडि भएको चार देशको पहिला भलिबल प्रतियोगितामा नेपाल दोस्रो भयो । त्यो फाइनल खेलको पाँचौं गेममा नेपालका खेलाडीमा देखिएको सबैभन्दा ठूलो कमजोरी स्टामिनाको कमी थियो । यो सबै कुरालाई ध्यानमा राखेर नेपालले खेलकुदका बारेमा नयाँ तरीकाबाट सोच्ने बेला आएको देखिन्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।