काठमाडौं । चीनले अमेरिकाबाट आयात हुने वस्तुमा थप १५ प्रतिशतसम्म भन्सार लगाउने घोषणा गरेपछि संयुक्त राज्य अमेरिका र चीनबीच दोस्रो व्यापार (२.०) युद्ध आधिकारिक रुपमा शुरु भएको छ । हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोष्ट पत्रिकाको अनलाइन संस्करण अनुसार चीनले अमेरिकी वस्तुमा थप १० देखि १५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ ।
'कोइला र लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी)मा १५ प्रतिशत कर लगाइनेछ,' बेइजिङको वाणिज्य मन्त्रालयले भनेको छ । चीनले अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि यन्त्र, ठूलो क्षमताको इन्जिन भएका सवारी साधन र पिकअप ट्रकमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
वासिङ्टनले चिनियाँ आयातमा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि बेइजिङको वाणिज्य मन्त्रालयले 'विश्व व्यापार संगठनको नियमको गम्भीर उल्लङ्घन गरेको' बताएको छ ।
साथसाथै केही खनिजजन्य वस्तु निर्यातमा नियन्त्रण गर्ने र अमेरिकी प्रविधि कम्पनी गुगलले एकाधिकार कायम गरेको सम्बन्धमा अनुसन्धान गर्ने घोषणा गरेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सबै चिनियाँ वस्तुमा १० प्रतिशत थप भन्सार लगाउने घोषणा गरको थियो, जुन मंगलवारबाट लागू भएको छ । त्यसको विरुद्ध यसअघि चीनले विश्व व्यापार संगठनमा उजुरी दिने बताएको थियो ।
तीन कार्यकारी आदेशमा ट्रम्पले मेक्सिकन र अधिकांश क्यानेडियन आयातमा २५ प्रतिशत र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएका थिए । हाल अमेरिकाले क्यानाडा र मेक्सिकोमाथि लगाएको २५ प्रतिशतको भन्सार भने एक महीनाको लागि स्थगित गरेको छ ।
ट्रम्पले 'अमेरिकीहरूको सुरक्षाका लागि' कर वृद्धि आवश्यक रहेको बताएका छन् । अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले तत्काल प्रतिशोधात्मक करको आदेश दिएकी थिइन् भने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशले १५५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत कर लगाउने बताएका थिए ।
ट्रम्पको योजनाले अमेरिकीहरूको किराना र पेट्रोलको लागत बढाउनेछ । सम्भावितरूपमा अटो एसेम्ब्ली प्लान्टहरू बन्द गर्नेछ र निकेल, पोटास, युरेनियम, स्टील र एल्युमिनियम जस्ता सामानहरूको आपूर्ति सीमित हुनेछ । एजेन्सीहरू