फागुन १, वाशिंगटन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौतामा पुग्न मार्च १ को समयसीमा पर सार्ने सम्भावना देखिएको छ । वार्तामा सन्तोषजनक प्रगति भयो भने समयसीमा लम्ब्याउन सकिने ट्रम्पले बताएका हुन् । ‘हामीहरु सम्झौताको नजिक पुग्यौं र वास्तवमै सम्झौता गर्न सकिन्छ भन्ने हामीलाई लाग्यो भने म स्वयम् समयसीमा केही पर सार्नेछु,’ मार्च १ को समयसीमा तर्फ औल्याउँदै ट्रम्पले भने । तर त्यतिकै भने यसो गर्न आफू ईच्छुक नरहेको उनको भनाइ छ ।
यसै हप्ता व्यापार विवादको स्थायी समाधान खोज्न चीन र अमेरिकी अधिकारीहरुले पेचिङमा उच्च स्तरीय वार्ता गर्दैछन् । ट्रम्पले मार्च १ सम्ममा सम्झौता हुन सकेन भने चिनियाँ आयातमा थप कर लगाउने चेतावनी दिएका थिए । अमेरिकाले गत वर्ष तीन चरणमा गरेर चीनबाट आयातित साढे २ खर्ब डलर बराबरको वस्तुमा अतिरिक्त महसुल लगाएको थियो । यसको प्रतिकारमा चीनले पनि १ खर्ब १० अर्ब डलर बराबरको अमेरिकी वस्तुमा महसुल लगाएको छ ।
व्यापार विवादको स्थायी समाधान खोज्न डिसेम्बर १ मा दुबै देशले ९० दिनसम्म नयाँ महसुल नलगाउने भन्दै महसुल युद्ध स्थगित गरेका थिए । मार्च १ भित्र सहमति भएन भने २ खर्ब डलरका चिनियाँ वस्तुमा लाग्दै आएको कर १० प्रतिशतबाट बढाएर २५ प्रतिशतमा पुर्याउने चेतावनी ट्रम्पले दिएका छन् । बाँकी २ खर्ब ६७ अर्ब डलरका वस्तुलाई पनि करको दायरामा ल्याउने चेतावनी उनको छ ।
यसै हप्ताको शुरुमा पेचिङमा तल्लो तहको वार्ता भएको थियो । बिहीवार भने अमेरिकी अर्थमन्त्री स्टिभन मनुशिन र चिनियाँ उप-प्रधानमन्त्री लिउको नेतृत्वमा उच्च स्तरीय वार्ता हुँदैछ । मार्च १ को समयसीमा आउँदै गर्दा चाँडै नै व्यापार सम्झौता गर्नु पर्ने दबाब र हातारोमा चीन-अमेरिका छन् । यस्तामो ट्रम्प केही लचक बनेको विश्लेषण गरिएको छ । व्यापार वार्तामा अमेरिकाले चीनलाई सहुलियत र अन्य खालका सहयोग गरेर घरेलु कम्पनीहरुलाई अनुचित कृपा गर्ने आर्थिक नीतिमा परिवर्तन गर्न दबाब दिइरहेको छ । एजेन्सी
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.