अमेरिका । टिकटकले संयुक्त राज्य अमेरिकामा शनिवार (जनवरी १८) देखि आफ्नो सेवा सञ्चालन बन्द गरेको छ । एप्पल र गुगल एप स्टोरहरूबाट निर्धारित प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै हटाइएको थियो।
एपएक्सेस गर्ने प्रयास गरिरहेका प्रयोगकर्ताहरूलाई एउटा सन्देश पठाइएको थियो, 'माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन। दुर्भाग्यवश, अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानून लागू गरिएको छ, यसको मतलब तपाईं अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न।'
शुक्रवार अमेरिकी सर्वोच्च अदालतले अमेरिकी कंग्रेसबाट पारित कानूनलाई सदर गर्ने फैसला गरेपछि यो प्रतिबन्ध लगाएको थियो, जसले प्लेटफर्मका १७ करोड अमेरिकी प्रयोगकर्ताहरूलाई असर गरेको छ । गत अप्रिलमा राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेको यो कानुन टिकटकको चिनियाँ स्वामित्वसँग जोडिएको तथा राष्ट्रिय सुरक्षा र डाटा गोपनीयता जोखिमका आधारमा न्यायोचित हुने अदालतले ठहर्याएको थियो ।
प्रतिबन्धका बावजुद टिकटकले यो समस्या समाधानको आशा व्यक्त गरेको छ । एपमा एक सन्देशमा भनिएको छ, 'हामी भाग्यशाली छौं कि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनः स्थापित गर्ने तथा समाधानमा हामीसँग मिलेर काम गर्ने सङ्केत गरेका छन् । कृपया सँगै रहनुहोस्!'
शनिवार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले सोमवार आफ्नो सपथपछि प्रतिबन्ध ९० दिन ढिला हुन सक्ने संकेत गरेका थिए । '९० दिनको म्याद थप्ने कुरा हो, सम्भवतः यो उपयुक्त हुन्छ,' ट्रम्पले भने, 'यसको अन्तिम निर्णय चाँडै घोषणा गरिनेछ।'
यो प्रतिबन्धले अमेरिकी सरकारले एपमार्फत चिनियाँ प्रभावलाई नियन्त्रण गर्ने प्रयासलाई दर्शाएको छ । सत्ता हस्तान्तरण नजिकिंदै जाँदा टिकटकको भविष्य अन्योलमा परेको छ भने आगामी ट्रम्प प्रशासनको निश्चित कदमको पर्खाइमा छ ।
यता एप्पल अपरेटिङ सपोर्ट सिस्टम (आइओएस)ले बाइटडान्स र त्यसका प्रडक्टहरू, जस्तै : टिकटकसँग सम्बन्धित एपहरूमा नयाँ सपोर्ट सिस्टम उपलब्ध नगराइने निर्णय गरेको छ । यस प्रतिबन्धसँगै एप्पलले प्रयोगकर्ताहरूलाई यस्ता प्रडक्टहरूसँग सम्बन्धित केही जानकारी दिएको छ।
एप्पलले भनेको छ, 'टिकटक र बाइटडान्स लिमिटेडका अपडेटहरू अब संयुक्त राज्य अमेरिकामा उपलब्ध छैनन्, तर त्यहाँका प्रयोगकर्ताहरूले केही सुविधाहरूमा सीमित पहुँच हुन सक्छ।'
एप्पलले आफूले सञ्चालन गर्ने क्षेत्राधिकारभित्रका कानुनको पालना गर्न बाध्य रहेको समेत स्पष्ट पारेको छ। 'बाइटडान्स लिमिटेड र यसका सहायक कम्पनीहरूले विकास गरेका टिकटक, क्यापकट, लेमन ८ र अन्य एपहरू सन् २०२५ जनवरी १९ देखि संयुक्त राज्य अमेरिकाका प्रयोगकर्ताहरूका लागि एप स्टोरबाट डाउनलोड वा अपडेटका लागि उपलब्ध हुने छैनन्,' एप्पलले भनेको छ।
एप्पलका अनुसार बाइटडान्स लिमिटेड र यसका सहायक कम्पनीहरूले विकास गरेका प्रडक्टहरू टिकटक, टिकटक स्टुडियो, टिकटक शप सेलर सेन्टर, क्यापकट, लेमन-८, हाइपिक, लार्क-टीम कोल्याब्रेसन, लार्क-रुम डस्पेले, गौथ : एआई स्टडी कम्पेनियन, मार्वल स्न्याप, अब संयुक्त राज्य अमेरिकामा उपलब्ध हुने छैनन्।
संयुक्त राज्य अमेरिकामा बस्नेहरूको उपकरणमा पहिले नै एप्लिकेशनहरू इन्स्टल गरेका भए पनि ती एपहरू उपकरणमा रहने छन् तर काम गर्ने छैनन्। तर, नयाँ उपकरण प्रयोग गर्दा, मेटिएमा, वा रिकभरी गर्दा ती एप्लिकेशनहरूलाई पुन: डाउनलोड गर्न सकिने छैन । साथै, इन-एप खरीद र नयाँ सदस्यता लिन पनि सकिने छैन।
यी एपहरू अब अपडेट नपाउने हुँदा आईओएस र आईप्याड ओएसको पछिल्ला संस्करणहरूसँग कार्यक्षमता, सुरक्षा, र अनुकूलतामा प्रभाव पर्ने सम्भावना छ । केही एपहरू सीमित हुन सक्छन् वा पूर्ण रूपमा काम गर्न छोड्न सक्छन्। बाइटडान्सका एपहरू अन्य देश र क्षेत्रहरूमा भने उपलब्ध भइरहनेछन्।
तर, संयुक्त राज्य अमेरिकामा भ्रमण गर्ने एप्पल खाता प्रयोग गर्ने विदेशीहरूले अमेरिकामा प्रवेश गरेपछि बाइटडान्स लिमिटेडका एपहरूमा इन-एप खरीद गर्न, नयाँ प्रयोगकर्ता बन्न, डाउनलोड गर्न र अद्यावधिक गर्न पहुँच पाउने छैनन्। तर, अमेरिका बाहिर निस्किएपछि ती एपहरूको सम्पूर्ण कार्यक्षमता फिर्ता हुनेछ। एजेन्सीको सहयोगमा