कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)को सशस्त्र शाखाले आइतवार युद्धविराम सम्झौताअन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन शुरू भएको पुष्टि गरेका छन् ।
स्थानीय समयअनुसार ८:३० मा शुरू हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११:१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ ।
'सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतवार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,' बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।
यसअघि, इजरायलले स्थानीय समयअनुसार ८:३० मा शुरू हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म शुरू नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीस्वरूप कारबाही जारी गरेको थियो ।
यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम शुरू हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा १० जना मारिएको बताएको छ।
उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार गाजामा ६ जना, उत्तरी क्षेत्रमा ३ जना र रफाहमा १ जना मारिएका थिए । आक्रमणमा परी विभिन्न स्थानमा थप २५ जना घाइते भएका छन् ।
यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम शुरू नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।
प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम शुरू नगर्न देशको सेनालाई आदेश दिएका थिए ।