काठमाडौं । चिनियाँ स्वामित्वको छोटो भिडियो शेयरिङ एप टिकटकले अमेरिका भित्र पुनः सेवा सञ्चालन गरेको छ । यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै कानुनी प्रतिबन्ध लागेपछि शनिबार साँझ टिकटकको सेवा रोकिएको थियो। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कानूनको कार्यान्वयनमा ढिलाइ गर्ने प्रतिबद्धता जनाएपछि टिकटकले सेवा पुन: सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो।
गत अप्रिलमा पारित कानुनले टिकटकलाई अमेरिकी बजारबाट हटाउन बाध्य पार्ने उद्देश्य राखेको थियो। यो कानुनले चिनियाँ कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी व्यवस्थान विक्री नगरेमा टिकटकलाई एप स्टोरबाट हटाउने र वेब होस्टिङ सेवा रोक्नुपर्ने व्यवस्था गरेको थियो। सर्वोच्च अदालतले हालै यो कानुनलाई सदर गर्दै कार्यान्वयनमा अनुमति दिएको थियो।
तर, ट्रम्पले कार्यकारी आदेशमार्फत यसका कार्यन्वयन प्रक्रिया ढिलाइ गर्ने बताएका छन् । उनले कम्पनीलाई राष्ट्रिय सुरक्षाका लागि सम्झौतामा सहमति जनाउन समय दिन आवश्यक भएको बताएका छन् । टिकटकले राष्ट्रपति ट्रम्पको प्रतिबद्धतालाई स्वागत गर्दै अमेरिका भित्र आफ्नो सेवा पुनः शुरू गरेको छ। कम्पनीले ट्रम्पलाई धन्यवाद दिँदै दीर्घकालीन समाधानका लागि सहकार्य गर्न इच्छुक रहेको बताएको छ।
यो घटनाले अमेरिकी राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया निम्त्याएको छ। रिपब्लिकन र डेमोक्र्याट दुवैबाट समर्थन पाएको कानुनले राष्ट्रिय सुरक्षालाई जोड दिएको छ । तर, ट्रम्पले आफ्नो अघिल्लो प्रतिबन्ध पक्षधर भूमिकाबाट फर्किएर टिकटकको लागि नरम देखाएका छन् । उनले टिकटकलाई आफ्नो चुनावी अभियानको महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गरेका थिए ।
ट्रम्पले कार्यकारी आदेशमार्फत एप्पल र गुगलजस्ता प्लेटफर्मलाई कानुनी दायित्वबाट मुक्त गराउने वाचा गरेका छन् । जसले टिकटक पुनः उपलब्ध गराउने संभावना थप बलियो बनाएको छ।
यस घटनाक्रमले अमेरिकी कानूनी व्यवस्थामा नयाँ प्रश्न खडा गरेको छ। विशेषज्ञहरूका अनुसार राष्ट्रपतिले प्रतिबन्ध स्थगित गर्न सक्छन् तर यसका लागि पर्याप्त आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, स्थानीय क्षेत्राधिकारले टिकटकलाई प्रतिबन्धित गर्न सक्ने सम्भावना पनि खुला छ । युवाहरू बीच लोकप्रिय रहेको टिकटक राजनीतिक अभियानहरूका लागि पनि महत्त्वपूर्ण माध्यम बनेको छ ।
आगामी दिनमा टिकटकको भविष्य ट्रम्प प्रशासनका कदमहरू र कानूनी प्रक्रियामा निर्भर रहनेछ । ट्रम्पको नीतिगत परिवर्तनले टिकटकलाई अमेरिकी बजारमा रहिरहने सम्भावना बढाएको छ, तर यो मुद्दाले राष्ट्रिय सुरक्षा, कानूनी विवाद र राजनीतिक विभाजनलाई उजागर गरेको छ।