काठमाडौं । अमेरिकी सरकारले संसारका अधिकांश देशबाट आयात हुने सामानमा थप भन्सार लगाएको बेला अमेरिकासँग नेपालको व्यापारघाटा बढ्दै गएको छ । केही वर्षअघिसम्म नेपालले अमेरिकाबाट आयातभन्दा त्यसतर्फ निर्यात बढी गथ्र्यो । यद्यपि अमेरिका नेपालको लागि भारतपछिको दोस्रो ठूलो निर्यात बजार रहँदै आएको छ ।
भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ९ महीनाको तथ्यांकअनुसार अमेरिकासँग नेपालको व्यापारघाटा उच्च रुपमा बढेको छ । विभागको तथ्यांकअनुसार अमेरिकासँगको व्यापारमा नेपाललाई करीब ६ अर्ब ८३ करोड रुपैयाँ घाटा छ ।
विभागका अनुसार नेपालले गत साउनदेखि चैतसम्ममा १३ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु अमेरिका निर्यात गरेको छ । सोही अवधिमा अमेरिकाबाट करीब १९ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात गरेको देखिन्छ । गत आवको सोही अवधिमा नेपालले अमेरिकाबाट १४ अर्ब ५१ करोड रुपैयाँको वस्तु आयात गरेको थियो । गत आवको सोही अवधिमा नेपालको अमेरिकातर्फको वस्तु निर्यात १२ अर्ब ५० करोड रुपैयाँ बराबर थियो । नेपालले कार्पेट, पश्मिना, तयारी कपडा, फेल्ट, चिया, सेरामिक र विभिन्न किसिमका खाद्यवस्तु अमेरिका निर्यात गर्दै आएको छ । चालू आवको यस अवधिमा नेपालले सबैभन्दा बढी कार्पेट, कुकुरको आहारा र फेल्टलगायत वस्तु निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ ।
यस अवधिमा ४ अर्ब ८९ करोडको २ लाख ३७ हजार वर्गमीटर कार्पेट र २ अर्ब ७२ करोड रुपैयाँको १ हजार ४६७ मेट्रिक टन छुर्पी निर्यात भएको छ । त्यसैगरी १ अर्ब १९ करोड रुपैयाँको ४०० मेट्रिक टन फेल्ट निर्यात भएको तथ्यांकले देखाएको छ । यसैगरी नेपालले अमेरिकाबाट सबैभन्दा धेरै ५ अर्ब ५३ करोड रुपैयाँको भटमास आयात गरेको छ । कोइला र भटमासको आयल केक पनि ठूलो मात्रामा अमेरिकाबाट नेपाल भित्रिएको भन्सारको तथ्यांकमा देखिन्छ ।
यसअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन भएसँगै उनले बाह्य मुलुकबाट आयात हुने वस्तुमा लाग्ने भन्सार महशुल दर बढाएका थिए ।
- वस्तु निर्यात रू. १३ अर्ब ११ करोड
- वस्तु आयात रू. १९ अर्ब ९४ करोड
- सबैभन्दा धेरै रू. ४ अर्ब ८९ करोडको गलैंचा निर्यात
- रू. २ अर्ब ७२ करोडको छुर्पी निर्यात
- रू. १ अर्ब १९ करोडको फेल्ट निर्यात
- सबैभन्दा धेरै रू. ५ अर्ब ५३ करोडको भटमास आयात
- रू. २ अर्ब ९० करोडको कोइला आयात
ट्रम्पले भारतलाई २६, बंगलादेशलाई ३७, भियतनामलाई ४६, श्रीलंकालाई ४४ र पाकिस्तानलाई २९ प्रतिशतको चर्को अतिरिक्त महशुल लगाइदिएका थिए । नेपाललाई चाहिँ १० प्रतिशतको आधारभूत महशुल दर लगाइदिएका थिए । यद्यपि ट्रम्पले १० प्रतिशतको आधारभूत भन्सार महशुलबाहेकको थप महशुल चीनबाहेक अन्य सबै राष्ट्रका वस्तुमा ९० दिनका लागि स्थगित गरेको हालै घोषणा गरेका छन् । ट्रम्पले अन्य देशमाथि लगाएको अतिरिक्त भन्सार महशुल दर नेपालका लागि भने निर्यात व्यापार बढाउने अवसर हुन सक्ने आकलन गरिएको थियो । ट्रम्पले यसअघि लागू गरेको र पछि ९० दिनका लागि स्थगित गरेको अतिरिक्त भन्सार लिने नीति फेरि लागू भएमा तयारी पोसाक, गलैंचाजस्ता सामान निर्यात गरेर नेपालले लाभ लिन सक्ने सम्भावना रहेको व्यवसायी बताउँछन् ।
नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष प्रचण्ड शाक्यले समग्र निर्यातको तुलनामा यतिबेला अमेरिकामा हुने गलैंचाको निर्यात राम्रो भएको बताए । अमेरिकाले अन्य देशलाई बढी भन्सार लगाएमा उनीहरूको निर्यात प्रभावित हुने र नेपालले आफ्नो उत्पादनको निर्यात बढाएर व्यापारघाटा कम गर्ने अवसर हुन सक्ने उनले बताए ।
अमेरिकाको कर नीति नेपाललाई अवसर हुन सक्ने जस्तो देखिए पनि नेपालले उक्त अवसर प्राप्त गर्न र अमेरिकासँगको व्यापारघाटा कम गर्न भने चुनौती रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव तथा अन्तराष्ट्रिय व्यापारविज्ञ रविशंकर सैंजूले बताए । उनका अनुसार उस्तै सामान निर्यात गर्ने देशलाई चर्को भन्सार लागेमा नेपाललाई फाइदा हुन्छ । तर, यो त्यति सहज छैन । ‘किनभने अमेरिकामा निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्न नेपालले त्यस्ता वस्तुको उत्पादन वृद्धि गर्नुपर्ने हुन्छ ।