वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्)लाई सम्बोधन गर्दै ‘अमेरिका फर्किएको’ बताएका छन् । अमेरिकी कङ्ग्रेसको इतिहासमै सबैभन्दा लामो १ घण्टा ४० मिनेट भाषण गरेका गरेका ट्रम्पले आफ्नो कट्टरपन्थी नीतिको प्रशंसा गरिरहँदा विपक्षी डेमोक्र्याटिक पार्टीको विरोधको सामना भने गर्नु परेको थियो ।
ट्रम्पले आफ्नो भाषणमा ट्यारिफको बचाउ, नीतिगत एजेन्डा, डेमोक्र्याटहरूको विरोध, रिपब्लिकनहरूको प्रशंसा र पनामा नहर र ग्रिनल्याण्ड अमेरिकी नियन्त्रणमा लिने आशय सहित मूख्य पाँच विषय उठाएका थिए ।
ट्यारिफको बचाउ गर्दै क्यानडा र मेक्सिकोबाट आयातित सामानमा २५ प्रतिशत ट्यारिफ लगाएको बारे उनले भने, "अन्य देशहरूले अमेरिकामा यस्तै गर्दा हामीले पनि गर्दैछौं । " उनले पार्टीलाई मुक्त व्यापार विरोधी बनाएको देखाए, तर यसले मूल्य वृद्धि र अर्थतन्त्रमा असर गर्न सक्ने चिन्ता पनि रहेको छ।
ट्रान्सजेन्डर एथलीट देखि सरकारी कार्यक्षमता विभागसम्मका मुद्दाहरूमा ध्यान केन्द्रित गर्दै उनले कर कटौती, टिप र ओभरटाइममा कर हटाउने योजना र चिप्स ऐक्ट निष्कृय गर्नुपर्ने बताए ।
उनले कङ्ग्रेसमा बोल्दै डेमोक्र्याटहरूको विरोध गरिरहँदा अल ग्रीन (डेमोक्र्याट) ले "मेडिकेयड कटौती नगर्न" भन्ने नारा लगाउँदै चालु अधिवेशनबाट बाहिर निस्किएका थिए । राशिदा ट्लाइबले "झूट" र "राजा हुँदैन" जस्ता साइनबोर्डबोकेकी थिइन् थिइन्। ट्रम्पले सीमा नियन्त्रणका बारे बोल्दा गर्दा रिपब्लिकन सदस्यहरू "ट्रम्प! ट्रम्प!" भन्ने नारा लगाएका देखिन्थे ।
धेरैले अपेक्षा गरेका इजरायल-हमास युद्ध, मेडिकेयड सुधार, र युक्रेनलाई सहयोग जस्ता विषयहरूमा ट्रम्पले विस्तृत चर्चा गरेनन्। तर पनामा नहर र ग्रिनल्याण्ड अमेरिकी नियन्त्रणमा लिने आशय भने व्यक्त गरे।
राष्ट्रपति ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भने, “मेरो प्रशासन भर्खर शुरू हुँदैछ।”
हरेक वाक्यांशसँगै रिपब्लिकन पार्टीका सदस्यहरूबाट ठूलो तालीको गडगडाहट पाएको उक्त सम्बोधनमा ट्रम्पले छुट्टाछुट्टै दुई पटक स्पेसएक्स र टेस्लाका मालिक मस्कको नाम उच्चारण गरे । सम्बोधनमा तालिको गडगडाहटको केही मिनेटमै विपक्षी सांसद्बाट विरोध समेत भइरहेकै थियो ।
विरोधका क्रममा स्वास्थ्य सेवाका कार्यक्रमहरूलाई लिएर ट्रम्पको विरोध गरिरहेका डेमोक्र्याटहरूले चुपचाप ‘झूटो’, ‘मस्कले चोरी गरे’ र ‘यो झूट हो’ जस्ता प्लेकार्डहरू बोकेर सभा हलमा उभिएका थिए । अठहत्तर वर्षीय राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो ६ हप्ताको प्रशंसा गर्दै अमेरिकी सरकारलाई नयाँ आकार दिन र युक्रेन युद्ध अन्त्यका लागि आफ्नो ध्रुवीकरणको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नयाँ करहरूले ‘केही अस्थिरता’ ल्याए पनि घरेलु उद्योगलाई फाइदा : ट्रम्प
संयुक्तराज्य अमेरिकाको अर्थव्यवस्थामा करसम्बन्धी नयाँ निर्णयले केही ‘अस्थिरता’ल्याउने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई घरेलु उद्योगको विकासको एक उपकरणका रूपमा प्रस्तुत गरेका छन् ।
“करहरू केवल अमेरिकी रोजगारीको संरक्षण मात्र होइन । यो हाम्रो देशको आत्माको संरक्षण हो”, ट्रम्पले संयुक्त सदनलाई सम्बोधन गर्दै भने, “केही अस्थिरता आउनेछ तर हामी त्यसका लागि तयार छौं, त्यति धेरै होइन । थोरै गडबडी हुनेछ तर हामी यससँग ठिक छौँ, यो धेरै हुनेछैन, संयुक्त राज्य अमेरिकामा आफ्ना उत्पादनहरू नबनाउने कम्पनीहरूले अतिरिक्त करहरू तिर्नुपर्ने चेतावनी दिँदै उनले भने, “केही अवस्थामा धेरै बढी कर लाग्न सक्छ ।”
ट्रम्पले युरोपेली सङ्घ (इयु) र क्यानाडा, ब्राजिल, भारत, मेक्सिको र दक्षिण कोरियालगायतका देशहरूमा ‘अन्यायपूर्ण’ व्यापारिक अभ्यासहरूभएको भन्दै आलोचना गरे। “यो मित्र र शत्रु दुवैबाट भइरहेको छ । यो प्रणाली संयुक्त राज्य अमेरिकाका लागि उचित छैन र कहिल्यै पनि थिएन”, उनले भने ।
उनले अमेरिकी व्यापारिक साझेदारहरूका लागि तयार पारिएको पारस्परिक कर अप्रिल २ देखि लागु हुने जानकारी दिए । ट्रम्पले रोजगारी सिर्जनाका साथै करबाट ‘खर्बौं डलर’ प्राप्त गर्ने वाचा समेत गरेका छन् । कार्यालयमा फर्केपछि ट्रम्पले क्यानाडा, मेक्सिको र चीनबाट आउने १४ खर्ब डलरका आयातमा करहरू लगाउने निर्णय गरेका थिए भने थप करहरू पाइपलाइनमा छन् । यी कदमले वित्तीय बजारमा ठूलो हलचल ल्याएको छ । एजेन्सीको सहयोगमा ।