वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताएका हुन् ।
सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए । यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको बताएका थिए। अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयात हुने वस्तुमा सबैभन्दा ठूलो आयातति सामान हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् ।
क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन् । ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताएका छन् । “हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ”, ट्रम्पले भनेका छन् ।
उनले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताए । राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका छन् । क्यानाडा र
मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोकेका छन् ।
तर चीनविरुद्धको भन्सार भने बढाइएको छ । मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ । बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ । गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामानहरू समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामानहरू समेट्छ ।
ट्रम्पले युरोपेली संघ (इयु) मा पनि कर लगाउने वाचा गरेका छन् र उनले चाँडै ‘पारस्परिक भन्सार’घोषणा गर्ने बताएका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आइतबार प्रसारित एक अन्तर्वार्तामा युरोपप्रति गरिएको वित्तीय धम्कीको विषयमा ट्रम्पसँग सीधा मुकाबला गर्ने बताएका छन् ।
यता, जापानी कम्पनी निप्पोन स्टीलले अमेरिकी यूएस स्टीलमा लगानी गर्ने प्रस्तावलाई जापानी सरकारका प्रवक्ताले ‘साहसिक प्रस्ताव’ भनेका छन्। पहिले अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै निप्पोन स्टीलको १४.९ अर्ब डलरको अधिग्रहण सम्झौता रोकेका थिए। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनी खरिद नगरी लगानी गर्न अनुमति दिने संकेत गरेका छन्।
ट्रम्पले भने, "यूएस स्टीलमा कसैको बहुमत हुन सक्दैन," तर निप्पोन स्टीललाई लगानी गर्न अनुमति दिइनेछ। जापानी मन्त्री परिषद्का प्रमुख योशिमासा हयाशीका अनुसार, जापानले यसलाई ‘साहसिक प्रस्ताव’ मानिरहेको छ, जसले अमेरिका र जापान दुवैको हित हुने बताइएको छ।
तर, निप्पोन स्टीलले ट्रम्पको भनाइबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।