काठमाडौं । भारतसँगको खुला सिमानाका कारण अनधिकृत रूपमा चिनी आयात हुँदा उखु क्रशिङ हुने मुख्य सिजनमै स्वदेशी चिनी विक्री गर्न समस्या भएको सम्बद्ध उद्योगीले बताएका छन् । नेपाल चिनी उद्योग संघले काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गरी अनधिकृत रूपमा चिनी आयात हुँदा सिजनमै स्वदेशी चिनी विक्री गर्न समस्या भएको गुनासो गरेको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष शशिकान्त अग्रवालले भर्खरै मात्र उद्योगहरूले चिनी क्रशिङ शुरू गरेकाले यतिबेला बजारमा चिनीको माग राम्रै हुनुपर्ने बताए । तर, खुला सिमानाका कारण भारतबाट अनधिकृत रूपमा चिनी भित्रिएर माग घट्दा विक्री घटेको र यही अवस्था लामो समयसम्म रहिरहे स्वदेशी उद्योगहरू संकटग्रस्त अवस्थामा पुग्न सक्ने अग्रवालको दाबी छ ।
संघले उपलब्ध गराएको तथ्यांकअनुसार गतवर्ष नेपालमा २० लाख ३ हजार ८७५ मेट्रिक टन उखु क्रशिङ भई १ लाख ७८ हजार ७१७ मेट्रिक टन चिनी उत्पादन भएको थियो ।
संघका अनुसार नेपालमा चिनीको वार्षिक माग करीब २ लाख ५० हजार मेट्रिक टन छ । यस हिसाबले स्वदेशी माग धान्न वार्षिक करीब ७२ हजार मेट्रिक टन चिनी अपुग देखिन्छ, जुन भारतलगायत मुलुकबाट आयात गर्नुपर्छ । तर, भन्सार विभागको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षमा ३४ हजार मेट्रिक टन मात्रै चिनी आयात भएको देखिन्छ ।
यस हिसाबले बजारमा चिनीको चरम अभावको अवस्था सृजना हुनुपर्ने देखिन्छ । तर, बाँकी अपुग भएको चिनी अनधिकृत बाटोबाट नेपाल आएको हुन सक्ने भएकाले बजारमा चिनीको अभाव नभएको संघको दाबी छ । सोही कारण स्वदेशी चिनी विक्री नभएर मौज्दात रहेको उद्योगीहरूको भनाइ छ । संघका अनुसार अवैध रूपमा भारतबाट चिनी भित्रिएपछि १३ ओटा चिनी उद्योगमा गतवर्षकै ५ हजार मेट्रिक टन चिनी मौज्दात छ । फलस्वरूप यो वर्ष उत्पादन गर्ने चिनी पनि मौज्दात रहने त्रास बढेको संघका सदस्य शिखर श्रेष्ठले बताए ।
‘यदि यही अवस्था रहेमा यस वर्ष उखु किसानको रकम भुक्तानी गर्न समस्या हुन सक्छ,’ श्रेष्ठले भने, ‘किसानले भुक्तानी नपाउने अवस्था आउन नदिन र स्वदेशी चिनीको विक्री बढाउन सरकारले अवैध आयात रोक्नुपर्छ ।’ सरकारले चिनी आयातमा ३० प्रतिशत भन्सार महशुल तोकेको छ । यसले गर्दा अवैध आयात बढेको अनुमान गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले पनि पछिल्ला वर्षमा उखु उत्पादन घट्दै गएको देखाउँछ । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा ३१ लाख ८४ हजार मेट्रिक टन उखु उत्पादन भएकोमा आव २०७९/८० मा आइपुग्दा ३१ लाख ३० हजार मेट्रिक टनमा ओर्लेको छ । उखु उत्पादक किसानहरूले भने उत्पादन घट्नुको मुख्य कारण समयमा लागतअनुसारको समर्थन मूल्य नतोकिनु र भुक्तानीमा ढिलाइ हुनु भएको बताउँदै आएका छन् ।
सोही कारण किसानले उखुखेती हुने जमीनमा अन्य बाली लगाउँदै आएको सर्लाहीका उखु किसान हरिश्याम रायले बताएका छन् । संघले यस वर्ष वर्षात् राम्रो भएका कारण उखु उत्पादन राम्रो भएकाले चिनी उत्पादन बढेर करीब २ लाख २० हजार मेट्रिक टन पुग्न सक्ने अनुमान गरेको छ ।