काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंक लिमिटेडले देशका १२ स्थानमा वाकाथन आयोजना गरेको छ। ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा रहेको यस कार्यक्रमको मुख्य उद्देश्य महिलाको सहनशीलता, उपलब्धि र समाजमा पुर्याएको योगदानलाई सम्मान गर्दै लैंगिक समानताको सन्देश प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ।
काठमाडौं स्थित बैंकको केन्द्रीय कार्यालयबाट वाकाथनको शुरूआत गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूलाई शुभकामना व्यक्त गरे । साथै संस्थामा महिला कर्मचारीहरूको नेतृत्व र सहभागितालाई बैंकको विकासको आधार भएको बताए । उनले भने, “विभिन्न विभागमा महिलाहरूको नेतृत्वले बैंकलाई गतिशील बनाएको छ । यसलाई अझ बढावा दिन हामी संकल्पित छौं।”
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस अवसरमा मार्च महिनाभर विभिन्न कार्यक्रम हुने जानकारी दिँदै महिलाहरूले नेतृत्वमा अग्रसर हुन पाउने अवसर सृजना गर्न बैंक तयार रहेको बताए । “लैंगिक समानता केवल महिलाको मुद्दा होइन, यो समग्र समाजको प्रगतिको आधार हो, उनले जोड दिँदै भने”
काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा एकैसाथ आयोजना गरिएको वाकाथनमा बैंकका १२ सयभन्दा बढी कर्मचारी सहभागी भए। यसले लैंगिक समानता र समावेशी समाज निर्माणमा सकारात्मक परिवर्तन ल्याउने बैंकको विश्वास प्रकट गरेको छ।
सहभागीहरूले केवल पुरुषसँग कदम मिलाउनु नभएर समाजमा रहेका लैंगिक रूढीवादी सोच र असमानताको अन्त्य गर्न यस्ता अभियान जरुरी रहेको बताए।
४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा अग्रणी रहेको नबिल बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२० एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ। संस्थाले लैंगिक समानतालाई प्राथमिकतामा राख्दै आर्थिक र सामाजिक सशक्तीकरणमा योगदान जारी राखेको छ।