काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशगत रूपमा छनोट गरेका नवनियुक्त ९४ जना सहायक (प्रशासन सेवा) कर्मचारीलाई लक्षित गरी चौधदिने पूर्व सेवाकालीन तालीम काठमाडौंमा शुरू गरेको छ ।
तालीमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालीमले बैंकिङ कार्यप्रतिको ज्ञान बढाउनुका साथै कामप्रति स्मार्टनेश, सकारात्मकता र सेवाभाव झल्कने बताए । उनले नवनियुक्त कर्मचारीलाई प्रतिस्पर्धी बजारमा खरो रूपमा उत्रनुका साथै जनताको असल सेवक हुनुपर्ने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराए । कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रम मानव संसाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्मालक्ष्मी जिसी लगायत कर्मचारीको उपस्थिति थियो । बैंकले हाल २९४ शाखा, ७२ एक्सटेन्सन काउन्टर, ३१२ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।