जेठ ६, काठमाडौं (अस) ।
विभिन्न राजनीतिक दलका नेताले अपर कर्णाली आयोजना भारतलाई दिन नहुने बताएका छन् । राष्ट्रिय जनमोर्चाले सोमवार राजधानीमा आयोजना गरेको ‘अपर कर्णाली’ विषयक अन्तरक्रियामा नेताहरूले यस्तो बताएका हुन् । ‘अपर कर्णाली आयोजना कुनै पनि हालतमा भारतलाई दिनु हुँदैन,’ कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘जनताको भावनाविपरीत उक्त परियोजना भारतलाई दिए त्यसविरुद्ध सङ्घर्ष गर्छौं ।’ केसीले आफूलाई राष्ट्रियताका लागि लडेको भन्ने वामपन्थीहरूले नै राष्ट्रघातको मोर्चाबन्दी गरेको आरोप लगाए । कार्यक्रममा नेकपा–माओवादीका सचिव देव गुरुङले सिङ्गो कर्णाली नदी भारतलाई सुम्पने षड्यन्त्रका साथ आयोजना निर्माण अनुमति जीएमआरलाई दिन लागेको बताए । नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र जेठारा, रत्नसंसार श्रेष्ठ, गोपाल सिवाकोटीलगायत वक्ताहरूले भारतलाई बिजुलीभन्दा पनि पानी चाहिएकाले कर्णाली नदी कब्जा गर्न लागेको धारणा राखेका थिए ।