काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरबाट विद्युत् उत्पादन शुरु भएको छ ।
पहिरोले क्षतिग्रस्त बनेको बाँध क्षेत्रका संरचना मर्मत सम्भार गरेपछि पुस ९ गतेबाट उक्त हाइड्रोपावरबाट विद्युत् उत्पादन शुरु भएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित अपर तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठूलो क्षति पुर्याएको थियो ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो ।
तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द भएको थियो । यसलाई आंशिकरूपमा मर्मत गरेर विद्युत् उत्पादन शुरु गरिएको नेप्सेमार्फत कम्पनीले जनाएको छ ।