विराटनगर। जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारतीय कूटनीतिज्ञ एसडी मुनिले नेपालको विकास कुनै छिमेकी मुलुकले गरिदिन्छ भनेर अपेक्षा राख्नु गलत भएको बताएका छन् । उनले नेपालीले आफ्नो देशको विकास आफै गर्नुपर्ने सुझाव दिए । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयाम’ विषयक अन्तरक्रियामा उनले त्यस्तो टिप्पणी गरेका हुन् । ‘विश्वकै प्रभावशाली बन्ने क्रममा रहेको भारतले विकासमा पछि परेको छिमेकीलाई सहयोग गर्नु पर्दैन’ भन्ने प्रश्नको जवाफ दिने क्रममा मुनिले विकासमा अरूको अपेक्षा गर्नुभन्दा आफै सक्षम हुनुपर्ने सुझाव दिए । उनले भारत वा चीनले विकास गरिदेला भनेर आशामा बस्न नहुने बताए ।
‘कुनै पनि छिमेकीले तपाईंको घरभित्र विकास ल्याएर दिँदैन । भारत र चीन दुवैले आफ्नै बलले माथि उठेर अर्थतन्त्र ठूलो बनाएका हुन्, विकास गरेका हुन्,’ उनले भने । नेपालले पनि आफ्नो सम्भावनालाई अघि बढाएर विकासित बन्नुपर्ने उनको सुझाव छ । उनले नेपालको पानी सयौं वर्षदेखि बगेर गंगा र बंगालको खाडीमा पुगेर बाफ बनिरहेको तर नेपालले त्यसको उपयोग गर्न नसकेको बताए । नेपालले पर्यटनमा सबैभन्दा बढी सम्भावना बोके पनि खासै प्रगति गर्न नसकेको भन्दै उनले यी दुई क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको बताए ।
आफूले विद्यावारिधि गर्ने बेलामा गिरिजाप्रसाद कोइरालासँग विराटनगर आएको र मातृका कोइरालासँग कोशी ब्यारेज अवलोकन गर्न गएको प्रसंग जोड्दै मुनिले विराटनगरसँग आफ्नो पुरानो साइनो रहेको बताए । त्यो बेलामा भारतीय इन्जिनीयरले पुल निर्माणका क्रममा गरेको गल्तीबारे मातृका कोइरालाले आफूलाई जानकारी गराएको समेत उनले स्मरण गरे । अर्काे राजनीतिक प्रसंगमा मुनिले आफू नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रस्ट्याउँदै गणतन्त्रभित्र मौलाएका विकृति भने निमूल पार्नुपर्ने बताए । जनताको अपेक्षाअनुसार गणतन्त्र चल्नुपर्नेमा उनले जोड दिए ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै मुनिले सयौं वर्ष राजाले शासन गर्दा नभएको विकास अब राजा ल्याए हुन्छ भनेर विश्वास गर्न नसकिने बताए । गणतन्त्रमा केही समस्या भए त्यसलाई सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी भए पनि आफ्नो शिष्य नभएको वा आफूले उनलाई नपढाएको मुनिले बताए । बरु नेपालबारेका कतिपय विषयमा आफूले बाबुरामलाई सोध्ने गरेको उनले खुलाए । नेपालमा आफूलाई माओवादी भन्ने गरेको बारे मुनिले भने, ‘म कुनै वादी होइन एउटा सामान्य प्राध्यापक मात्र हुँ ।’