अर्थ र वाणिज्यका क्षेत्रमा उच्चारण भइरहने शब्द र तिनको सङ्क्षिप्त व्याख्यासहितको पुस्तक ‘अ डिक्स्नरी अफ बिजनेश टर्मिनोलोजिज’ प्रकाशनमा आएको छ । लेखक तथा सङ्कलक मधु पौडेलले भर्खरै अर्थ–वाणिज्य क्षेत्रका विभिन्न शब्द, तिनको सामान्य परिचय र विश्लेषणसहितको यो पुस्तक प्रकाशनमा ल्याएका हुन् । यो वाणिज्य, उद्यमशीलता र अर्थसँग जोडिएका शब्द/शब्दावलीबारे सङ्क्षिप्त जानकारी समेटिको पुस्तक हो । अर्थशास्त्र तथा वाणिज्यशास्त्रमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी, पेशाकर्मी तथा प्राध्यापकका लागि एउटा उपयोगी पुस्तक हो । मानव संसाधन व्यवस्थापन, मार्केटिङ, बैङ्किङ तथा मुद्रा, वाणिज्य कानून, वित्त तथा लेखासँग सम्बन्धित महŒवपूर्ण शब्द र तिनको अर्थलाई सामान्यीकरण गर्दै सहज रूपमा अध्ययन गर्न पुस्तक उपयुक्त हुने देखिन्छ । सङ्गठनात्मक व्यवहार, अनुसन्धान तथा विकासका मुद्दामा केन्द्रित हुनेका लागि पुस्तक सहयोगी बन्न सक्छ । अर्थ तथा वाणिज्यसँग सम्बन्धित विभिन्न शब्दलाई एकत्रित गरी सरल व्याख्या गरिएकाले यस क्षेत्रसँग रुचि राख्ने जोकसैका लागि पुस्तक उपयोगी हुने देखिन्छ ।
पुस्तकमा समेटिएका अधिकांश शब्द र तिनको व्याख्या विकिपिडिया र इन्भेष्टोपेडिया, इन्भेष्टरवर्डजस्ता वेबसाइटबाट लिइएको छ । अझै पनि धेरै नेपालीको पहुँचमा इण्टरनेट तथा सामाजिक सञ्जाल पुग्न सकेको छैन । त्यस्तो अवस्थामा इण्टरनेटको सहज पहुँच नभएकाका लागि पुस्तक निकै उपयोगी हुन सक्छ । इण्टरनेटको सुविधा हुने तर पुस्तकमा रुचि हुनेका लागि पनि पुस्तक सहयोगी छ । यीबाहेक अन्य थुपै्र किसिमका अध्ययन तथा अनुसन्धानका लागि पुस्तकले सहयोग गर्ने लेखकको बुझाइ छ ।
विषयवस्तु र व्याख्याले अर्थ तथा वाणिज्यका क्षेत्रमा चासो राख्नेलाई सघाउन सक्छ । अङ्ग्रेजी भाषामा लेखिएका कारण पुस्तक उच्चशिक्षा अध्ययन गरेका नेपाली र विदेशी पाठकका लागि उपयोगी बन्ने देखिन्छ । पुस्तकलाई अध्ययन गर्न सजिलो होस् भन्ने उद्देश्यअनुसार लेखकले शब्दकोषकै ढाँचामा अङ्ग्रेजी अक्षरको ‘ए’देखि ‘जेड’सम्म योजनाबद्ध र प्रक्रियासङ्गत शब्द–शब्दावलीलाई राखेका छन् । लेखकले पुस्तक विक्रीबाट आएको १० प्रतिशत रकम अर्घाखाँची हंशपुरस्थित श्री जनक प्राथमिक विद्यालयका गरीब तथा जेहेनदार विद्यार्थीलाई उपलब्ध गराउने उल्लेख गरेका छन् ।
पुस्तक : अ डिक्श नरी अफ बिजनेश टर्मिनोलोजिज
लेखक/सङ्कलक : मधु पौडेल
प्रकाशक : दिव्य देउराली प्रकाशन प्रालि
पृष्ठ सङ्ख्या : ३९०
मूल्य : रू. ४१५/-
प्रकाशन मिति : २०१४ अप्रिल