पुस्तक : सीडीओका १७ वर्ष
लेखक : नरेन्द्रराज पौडेल
प्रकाशक : वी रीड काठमाडौं
मूल्य : रू. ३७५/–
सीडीओ अर्थात् प्रमुख जिल्ला अधिकारी– जिल्लाका सबैभन्दा ठूला हाकीम । पहिला पहिला उनलाई बडाहाकीम भन्ने चलन थियो । सीडीओ जिल्लाका प्रशासन र सुरक्षा प्रमुख पनि हुन्छन्, अर्थात् जिल्लाका अभिभावक । त्यसो हुँदा सीडीओले जिल्लामा रहँदा धेरै किसिमका अनुभव हासिल गरेको हुन्छ । रमाइला र संवेदनशील सबै प्रकारका अनुभवको भण्डार हुन्छ सीडीओसँग । लामो समयसम्म सीडीओ भएर धेरै जिल्ला घुमेका एक जना पूर्वप्रशासक नरेन्द्रराज पौडेलले त्यस्तै अनुभवलाई समेटेर पुस्तक बजारमा ल्याएका छन्– सीडीओका १७ वर्ष । पुस्तकमा उनले आफूलाई बडाहाकीमकै रूपमा प्रस्तुत गरेका छन् । २०४७ मा प्रजातन्त्र पुनर्बहाली भएलगत्तै सीडीओ हुन शुरू गरेर गणतन्त्र स्थापना भएपछि अवकाश पाएका पौडेल माओवादी द्वन्द्वकालभरि सोही भूमिकामा थिए । त्यसबेलाका सीडीओको जागीर कति जोखीमपूर्ण थियो र उनका अनुभव कति रोचक होलान्, सहजै अनुमान लगाउन सकिने कुरा हो ।
पञ्चायत सकिनेबित्तिकै सीडीओ बनेका उनको पहिलो कार्यकालमै पञ्चायतको भूतसँग साक्षात्कार हुन्छ । पञ्चायतकालमा धेरै समय वडाध्यक्ष भएर काम गरेका एक जना गाउँलेलाई प्रजातन्त्रका पक्षधरले भूतजस्तै बनाएर गोदेर खेदेपछि न्याय माग्दै सीडीओको कार्यालयमा आएका उनलाई पौडेलले न्याय दिएर पठाएको घटना निकै रोचक छ । त्यस्तै, भोजपुरको सीडीओ हुँदा नेपाली सेनाको मेजरको करकापमा तिहारमा कौडा खेलेको पनि उनले इमानदारीसाथ लेखेका छन् । भोजपुरमै हुँदा उनले एसएलसी परीक्षामा कडाइ गरेर समाचार पनि बनाएका थिए । उनले पञ्चायतकालमा चुनावमा कसरी धाँधली गरिन्थ्यो भन्ने कुरा पनि एउटा सीडीओको निवासमा आफू पुग्दा देखेको भ्वाङको उदाहरणबाट रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।
पञ्चायतदेखि गणतन्त्रसम्म सरकारी सेवामा बिताएका साहित्यकार सीडीओ पौडेलले त्यस अवधिका तीनओटै शासन व्यवस्थालाई भरमार गाली गरेका छन् । अझ राजनीतिक नेतृत्व त उनको निशानामा पर्ने नै भए । तर, निजामती कर्मचारी प्रशासनभित्रका कमजोरी र विकृतिबारे भने उनले कलम चलाउने कष्ट गरेको देखिँदैन ।
चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक वार्डेन कमलजङ्ग कुँवरले लेखेको पुस्तक ‘गैंडालाई चार वर्ष’मा आफूलाई आधारहीन आरोप लगाएको विषयमा उनले पुस्तकमा पादटिप्पणी लेखेरै खण्डन गरेका छन् । खाग तस्करलाई छुटाउन तत्कालीन सीडीओ पौडेलले भूमिका खेलेको कुँवरले लेखेका छन् । सो कुराबाट आफ्नो मानहानि भएको भन्दै पौडेलले काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा हालेका रहेछन् । त्यसमा उनीहरूबीच अदालतले मिलापत्र गराइदिएछ र कुँवरले क्षमापत्रको यस्तो कागज गरेका रहेछन्, ‘नरेन्द्रराज पौडेलका विषयमा भूलवश गलत कुरा लेखिन पुगेकोमा स्वीकार गरी उहाँ र उहाँको परिवारप्रति पर्न गएको मानसिक पीडा र दुःखप्रति क्षमायाचना गर्दछु । यस्ता गलत कुरा आगामी संस्करण र अन्य भाषामा अनूदित र संस्करणमा समेत परिमार्जन तथा संशोधन गर्नेछु ।’ अहिलेसम्म प्रकाशमा नआएको यो कुरा उनले प्रकाश गरिदिएका छन् । तर, सो पुस्तक अङ्ग्रेजीमा अनुवाद गर्दा डा. गोविन्दराज भट्टराईले सो कुरा नसच्याइदिएकोमा उनको गुनासो छ । कुँवरका सम्बन्धमा अन्य रोचक विषयवस्तु पनि पुस्तकमा परेको छ । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले स्थानीय जनतालाई दिएको दुःख र गरेको अत्याचारका विषयमा पनि उनले सविस्तार वर्णन गरेका छन् । चितवनको बाँदरमुढेमा माओवादीले एम्बुसमा पारी यात्रुबस उडाएका बेला पौडेल चितवनकै सीडीओ थिए ।
आफ्ना कमजोरीका विषयमा आफैले नबोल्नु मानवीय स्वभाव नै हो, त्यसो हुँदा लेखकले पनि त्यसमा कुनै शब्द खर्च गरेनन् भनेर गुनासो गर्नुपर्ने अवस्था छैन । आफै पनि स्थापित कवि तथा साहित्यकार पौडेलको अनुभवजन्य भोगाइको वर्णन यो किताब एकपल्ट पढ्नैपर्ने पुस्तकको सूचीमा पार्नु श्रेयस्कर हुन्छ ।