पुस्तक : सङ्घीय नेपालको अर्थराजनीति
लेखक : डा. चन्द्रमणि अधिकारी
प्रकाशक : नारेक नेपाल
संस्करण : पहिलो, २०७१
मूल्य : रू. ५००/-
हाल मुलुक एकात्मक व्यवस्थाबाट सङ्घात्मक शासन व्यवस्थातिर सङ्क्रमणमा छ, पूँजीवादी र समाजवादी अर्थ व्यवस्थाको मझधारमा छ । सङ्घात्मक शासन व्यवस्थातिर बहुमत राजनीतिक शक्तिहरूको प्रतिबद्धता हुँदाहुँदै पनि त्यसविपरीतको एकात्मक व्यवस्थाका पक्षमा पनि बलियो जनतम देखापरेको छ । अर्कातिर, मुलुकले पूँजीवादी व्यवस्थाअनुरूप दोस्रो चरणको आर्थिक सुधारको घोषणा गरिरहँदा पनि समाजवादी अर्थ व्यवस्थाप्रतिको लगाव कम भएको छैन । वास्तवमा मुलुकका प्रमुख दुई अर्थ राजनीतिक विषय यिनै हुन् । आर्थिक विषयमा लामो समयदेखि कलम चलाउँदै आएका डा. चन्द्रमणि अधिकारीले यिनै दुई विषयमा स्पष्ट विचारसहितको पुस्तक हालै प्रकाशनमा ल्याएका छन्, ‘सङ्घीय नेपालको अर्थराजनीति ।’
अहिले अर्थशास्त्रको क्षेत्रमा फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीको ‘क्यापिटल इन दि ट्वाण्टीफष्र्ट सेञ्चुरी’ पुस्तक सर्वाधिक चर्चामा छ । १८औं र १९औं शताब्दीमा यूरोपेली देशहरूमा उच्च आय असमानता रहेको तथा औद्योगिक क्रान्ति, सन् १९३० को महामन्दी तथा दुईओटा विश्वयुद्धको प्रभावस्वरूप त्यो असमानता केही हदसम्म कम भएको पिकेटी बताउँछन् । तर, अहिले आएर आय असमानता प्रथम विश्वयुद्धअघिकै अवस्थामा पुगेको उनको निष्कर्ष छ । डा. अधिकारीले पनि विभिन्न स्रोतका तथ्याङ्कलाई आधार मानेर यही निष्कर्ष निकालेका छन् । उनी पहिलो परिच्छेदमा नयाँ अर्थ प्रणालीको प्रस्तावना गर्दै भन्छन्, ‘विश्वआय र सम्पत्तिमा सम्भ्रान्तकै कब्जा छ र विश्व अर्थराजनीतिको नीतिनिर्माणमा उनीहरूकै दबदबा छ । ‘जसले खाली गोडा हिँडेको छैन, जो सार्वजनिक सवारीसाधनमा यात्रा गर्दैन, निजी विमानमा चढेर अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन्छ, उसले कल्पना गर्ने नीतिगत सुधारले गरीब जनताका पैतालाका डोब र तिनका चस्काइ कसरी अनुभव गर्न सक्छ ?’, उनको निष्कर्ष छ । अमेरिकी न्यायाधीश लुइस ब्राण्डिजलाई उद्धृत गर्दै उनी लेख्छन्, ‘या त हामी लोकतन्त्र रोजौं वा सीमित व्यक्तिको हातमा मात्र सम्पत्ति थुप्रिने व्यवस्था । दुवै कुरा सँगै हुन सक्दैन ।’ यी सबैको निष्कर्षस्वरूप समाजवादी अर्थ व्यवस्था अपनाउनुपर्ने लेखकको प्रस्ताव छ ।
दोस्रो परिच्छेदमा उनले अहिलेको जल्दोबल्दो विषय सङघीयताका बारेमा अर्थ राजनीतिक विश्लेषण प्रस्तुत गरेका छन् । वास्तवमा अहिले सङ्घीयता संविधान निर्माणको सबैभन्दा जटिल विषय हो । सङ्घीयताको बुझाइमै समस्या रहेको बेला यसको अवधारणा, वित्तीय सङ्घीयतालगायत विषयमा लेखकले मिहीन विश्लेषण गरेका छन् । ‘सीमित सङ्ख्याका प्रदेश र पर्याप्त स्वायत्तता दिइएका स्थानीय निकायको व्यवस्थासहित राज्य पुनःसंरचना गर्नुपर्ने तथा अनुभव र व्यवहारका आधारमा १०–१० वर्षमा यसको पुनरवलोकन गर्नुपर्ने’ प्रस्ताव उनले सङ्घीयताका सन्दर्भमा गरेका छन् ।
सार्वजनिक वित्त, राजस्व नीति, विकासका अन्य आयामहरू पुस्तकले समेटेका अन्य विषयवस्तु हुन् । पुस्तकको अन्त्यमा विश्व अर्थतन्त्रका चर्चित प्रसङ्गहरू प्रस्तुत गरेका छन् । यस प्रकार यो पुस्तक वर्तमान विश्वअर्थतन्त्र र नेपालको अर्थतन्त्रबारे जानकारी लिन चाहनेले पढ्नैपर्ने पुस्तक बनेको छ । अझ सङ्घीयताको आर्थिक पक्षका बारेमा खासै चर्चा नभएको सन्दर्भमा सभासद्हरूले त अनिवार्य रूपमा यो पुस्तक पढ्नैपर्छ । अर्थशास्त्रजस्तो जटिल र रुखो विषयलाई पनि सरल भाषामा प्रस्तुत गर्नसक्नु लेखकको बलियो पक्ष हो । धेरै विषयमा प्रवेश गर्ने तर खँदिलो र शृङ्खलाबद्ध हिसाबले निष्कर्ष प्रदान गर्न नसक्ने कमजोरी लेखकमा देखिएको छ ।