वीरगञ्ज, उद्यम र व्यापार व्यवसायको केन्द्रबिन्दु मानिएको ठाउँ । वीरगञ्जेली उद्योग व्यापारका क्षेत्रका अर्थ–सामाजिक आयाममा विद्यमान् असल र खराब आचरणको अन्तरद्वन्द्वको परिणाम हो, अनुराधा भवन । यो औपन्यासिक कृतिका सृजनाकार वीरगञ्जकै युवा उद्यमी गणेशप्रसाद लाठ हुन् । लेखक लाठले अनुराधा भवनका पात्रमार्फत मध्यमवर्गीय व्यापारिक घरानाको सङ्घर्षका पाटालाई केस्रा–केस्रा केलाएका छन् । उपन्यास खासगरी पैसा र प्रतिष्ठाको अन्तरसङ्घर्षमा केन्द्रित छ । व्यवसायको उद्देश्य आय आर्जन गर्नु भए पनि आम्दानीका लागि कुनै प्रकारका अुनचित काम गर्नु हुँदैन भन्ने मान्यतामा अडिग बिरजु मारवाडी र व्यापार व्यवसायको विस्तारका लागि साम, दाम, दण्ड भेद सबै उपाय अपनाउन पछि नपर्ने बिरजुकै सहोदर भाइ सरजुको आचरणमा केन्द्रित छ । उपन्यासका घटनक्रम यसै सन्दर्भको सेरोफेरेमा सृजित अवस्थाको उपजका रूपमा देखिएका छन् ।
वीरगञ्जको सिर्सिया नदी किनारको स्मशानघाटमा बिरजुको अन्तिम संस्कारको तयारीबाट शुरू भएको कथावस्तु करीब सोही स्थानमै टुङ्गिएको छ । लेखकले स्मशान घाटसँगैको रहेको कवाडखानालाई संयोगका रूपमा चित्रणमात्र गरेका छैनन्, कवाड वस्तु पुनर्प्रयोक गर्न सकिने भए पनि मानवजीवनले मृत्युपश्चात् त्यो अवसर नपाउने भएकाले जीवन रहँदै समाजका लागि योगदान पुर्याउनुपर्छ भन्ने सन्देश दिन खोजेका छन् । बिरजुको नश्वर शरीरबाट छुट्टिएको उसको आत्मालाई बिरजुको जीवनका प्रत्येक उतारचढावका साक्षीका रूपमा उभ्याएर लेखकले स्मशानघाट, छेउको सिर्सिया नदीको प्रदूषण, बेरोजगार युवाको दुव्र्यसनको कुलत र मानवीय संवेदनाको देखावटी आवरणप्रति तीखो प्रहार गरेका छन् । उनले त्यहाँका भुस्याहा कुकुरको दिनचर्यालाई शक्ति र स्वार्थका लागि तँ छाड म छाडमा उत्रिएको मानवीय व्यवहारसित तुलना गरेका छन् ।
११ वर्षको उमेरका पिता गुमाएको जेठो सन्तान बिरजु र उसकी आमा अनुराधाको जीवन सङ्घर्षले इमानदारी र त्यागको सन्देश दिएको छ । सम्पत्ति आर्जनका निम्ति कुनै पनि हालतमा नैतिकता नबेच्ने बिरजु पैसा आर्जनका लागि सकेजति सबै कर्ममा पछि नपर्ने सरजुको दैनिकीबाट विरक्तिएर पैतृक घर छाडेर अन्यत्र बस्न थाल्छ । उसले आफ्नी आमाको नामबाट आफ्नो घरको नाम अनुराधा भवन राखेको हुन्छ । यसरी लेखकले उपन्यासको मूलपात्रको मातृभक्तिको प्रतीकका रूपमा उपन्यासको नाम जुराएका छन् ।
गरीबीका कारण स्कूले पढाइ पनि पूरा गर्न नपाएको बिरजुले विद्यालयका गुरु दुबे सर र आफ्ना पिताको अर्तिलाई जीवनको मूलमन्त्र मानेको हुन्छ । उपन्यासमा धन आर्जनको महत्वाकाङ्क्षाका सवालमा ‘आफ्नो तन्नाको परिधिभित्र खुट्टा फैलाउनु पर्छ’ भन्ने पिता र जीवनमा कहिल्यै हार मान्नुहुँदैन भन्ने दुबे सर नै बिरजुका प्रेरणाका स्रोत बनेका छन् । विधवा आमा र भाइबहिनीको जीवनयापनका लागि १२ वर्षको उमेरदेखि नै वीरगञ्ज, हेटौंडा, भीमफेदी, काठमाडौँदेखि भारतको मजफरपुरसम्म बेहोर्नु परेको हण्डर, ठक्कर, अपमान र आरोहअवरोहबाट खारिएर बिरजुको जीनव दर्शन ‘२४ क्यारेट’को भएको छ । तर, जीवनको उत्तरार्धतिर उसैका छोराले उसको पदचाप पछ्याउन सक्दैनन् र बिरजुको अवशानपछि पछुतोमा छट्पटिन्छन् । पञ्चायकालमा पैसाको बल र दरबारसितको समिप्यतामा ठूलो उद्योगी र राजनीतिज्ञ बनेको सरजुलाई पनि जीवनको अन्तिम अवस्थामा बिरजुको अपमान गरेकोमा ग्लानी हुन्छ । कथावस्तुमा लेखकले सत्य र इमानदारीको ढिलै भए पनि जित हुने बलियो तर्क दिएका छन् । उपन्यासमा उद्योगी व्यवसायी सक्रिय राजनीतिमा लाग्नुुहुँदैन भन्ने सन्देशमात्र दिएका छैनन्, प्रशासकले व्यक्तिगत रिसबी उद्योगीमाथि कसरी साँध्छन् भन्ने प्रसङ्ग पनि समावेश छ ।
उपन्यासमा एकल महिला र आर्थिकरूपमा विपन्नमाथि समाजिक दुव्र्यवहार पनि चित्रण गरिएको छ । २७ वर्षको उमेरमा विधवा भएकी अनुराधाको सन्दर्भमा विधवा शारीरिकरूपमा आकर्षक छिन् भने लोभी आँखाले हरेर र्याल चुहाउँदै सहयोगको नाममा टाँसिन खोज्ने पनि थिए, भनेर लेखकले सामाजिक आडम्बरको भण्डाफोर गरेका छन् । आफ्ना पात्रमार्फत लेखकले छोरा र छोरीमा हुने विभेद तथा दाइजो प्रथाका कारण तिनका अभिभावकले उठाउनुपरेको मानसिक एवम् सामाजिक अपमानको पनि खुलेरै आलोचना गरेका छन् । लेखक मारवाडी भाषी भएर पनि उनले उपन्यासमा वीरगञ्जमा बोलिने नेपाली भाषाको विशिष्टतालाई समेटेका छन् । नेपाली, भोजपुरी, मारवाडी र हिन्दी भाषाको प्रयोग भएको उपन्यासमा स्थानीयरूपमा प्रचलनमा रहेका शब्दहरू जस्ताको त्यस्तै राखिँदा भाषिक मौलिकता झल्किएको छ, तथापि केही शाब्दिक र प्रस्तुतिगत त्रुटिहरु संशोधनयोग्य छन् । लेखककै शब्दमा उपन्यास ‘सत्य घटनामा आधारित’ छ । यस आधारमा समकालीन उद्योग व्यापार र समाजिक प्रतिबिम्बलाई साहित्यमा रूपान्तरण गरिएको अनुराधा भवन एकपटक पढ्नै पर्ने कृति हो ।
प्रस्तुति : ओमप्रकाश खनाल
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.