बेलायती लेखक जर्ज अरवेलको विश्वचर्चित कृति ‘एनिमल फार्म’को नेपाली अनुवाद ‘चारखुट्टेको घरजम’ बजारमा पाइन छाडेको थियो । फणिन्द्रप्रसाद उपाध्यायले अनुवाद गरेको यो कृति पहिलोपटक विसं २०२७ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो । अङ्ग्रेजीमा एनिमल फार्म जति चर्चित छ, नेपालीमा चारखुट्टेको घरजम पनि त्यति नै । यो उपन्यासको अति नै सुन्दर नेपाली अनुवाद भएको भनेर त्यतिबेलै प्रशस्त प्रशंसा भएको थियो । पुस्तकका ठाउँठाउँमा राखिएका कविताको समेत छन्दात्मक अनुवाद अनुवादकले गरेका छन् । कविताको अनुवाद अक्षरशः मिलेको त छ नै, भावात्मक रूपमा पनि अति नै सुन्दर छ । उदाहरणका लागि :
ए इङ्गल्याण्डका जन्तु, जन्तु आयरल्याण्डका
प्रत्येक देशका जन्तु, जन्तु व्यापक विश्वका,
सुन ए, सुन ए सारा भावी स्वर्णिम कालको,
हर्षपूरित यो मेरो समाचार सुभागको ।
जर्ज अरवेलको यो पुस्तकमा साम्यवादमा आउन सक्ने विकृतिका विषय मिहीन विश्लेषण गरिएको छ । यो पुस्तकले विश्व कम्युनिष्ट आन्दोलनप्रति व्यङ्ग्यात्मक र प्रतीकात्मक आलोचना गरेको छ । नेपालमा माओवादीको उदयपछि साम्यवादका विषयमा विशेष किसिमको धारणा विकास भएको सन्दर्भमा पुस्तक पाठकका लागि रोचक हुनसक्छ । वास्तवमा साम्यवादका विषयमा विशेष किसिमको धारणा भएको पुस्तक हो यो ।
जर्ज अरवेलको एनिमल फार्म विश्वका ६० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ । यो विश्वमा सबैभन्दा धेरै पढिएको पुस्तकमध्ये एक हो । तर, यसको नेपाली अनुवाद लामो समयदेखि बजारमा उपलब्ध नभएको सन्दर्भमा ‘शिक्षक’ मासिकले यसको नयाँ संस्करण बजारमा ल्याएको छ । अङ्ग्रेजी भाषामा पुस्तक पढ्न नसक्नेहरूलाई त यो अति नै उपयोगी छँदै छ, अङ्ग्रेजीमै ‘एनिमल फार्म’ पढिसकेकाहरूले पनि नेपाली मौलिकतासहितको मिठास पुस्तकमा पाउन सक्छन् ।
पुस्तक : चारखुट्टेको घरजम (एनिमल फार्मको नेपाली अनुवाद)
लेखक : जर्ज अरवेल
अनुवादक : फणीन्द्रप्रसाद उपाध्याय
प्रकाशक : शिक्षक मासिक (ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्था लिमिटेड, ललितपुर)
संस्करण : दोस्रो
मूल्य : रू. १५०/–
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.