काठमाडौं । चालू आर्थिक वर्ष (आव)मा नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्बभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रतिवेदन अनुसार चालु आवमा उपभोक्ता मूल्यमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएको छ ।
उक्त प्रतिवेदन अनुसार यो वर्ष बागमती प्रदेशले सबैभन्दा धेरै ३६.४ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । सार्वजनिक तथ्यांकअनुसार कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ ।
गत आव २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदानमा सामान्य परिवर्तन भने देखिएको छ । गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमको योगदान घटेको छ भने बाँकी प्रदेशको योगदान सामान्य बढेको छ ।
चालु आवको पहिलो ६–९ महीनासम्मको उपलब्ध तथ्यांक तथा सूचनाबाट उक्त अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।