सूचनाप्रविधि (आईटी) र स्टार्टअप : सूचनाप्रविधि र स्टार्टअप क्षेत्रको विकास र विस्तारमा युवा पुस्ताको लगाव बढ्दो छ । सूचनाप्रविधिसँग सम्बद्ध नयाँनयाँ स्टार्टअप कम्पनीहरू खुल्ने क्रम बढ्दो छ । स्वदेशमै बसी आउट सोर्सिङका माध्यमबाट विदेशका कम्पनीहरूको काम गरी राम्रो आम्दानी गर्न सकिने भएकाले युवाको आकर्षण बढेको हो । प्रविधिमा आधारित रही नयाँ स्टार्टअपहरू उदय हुने क्रम वृद्धि भइरहको छ जसले सफ्टवेयर विकास, मोबाइल एप्लिकेशन निर्माण, वेब डिजाइनिङ, डिजिटल मार्केटिङ, ई–कमर्सजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन् ।
युवा पुस्तालाई प्रतिनिधित्व गर्ने यस क्षेत्रमा थप पहुँच वृद्धि गर्न नेपाल सरकारको सम्बद्ध निकायले स्टार्टअप इकोसिस्टम विकास गर्न सहयोग पुर्याउने उद्देश्यका साथ विभिन्न योजनाहरू ल्याउनुका साथै वित्तीय व्यवस्थापनमा सहयोग पुर्याउनुपर्छ । त्यसका अतिरिक्त स्टार्टअप इन्क्युबेटरहरू, टेक हबहरू र सहुलियतपूर्ण लगानी योजनाहरूको आधार तयार गरी सूचनाप्रविधि र स्टार्टअप उद्यमशीलताको वृद्धिमा सहयोग पुर्याउन सक्नुपर्छ ।
जलविद्युत् र नवीकरणीय ऊर्जा : जलविद्युत् उत्पादन हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो । पछिल्ला वर्षहरूमा नयाँ नयाँ ठूला विद्युत् गृह निर्माणको क्रमले तीव्रता पाएको छ भने ससाना परिमाणमा ऊर्जा उत्पादनका लागि निजीक्षेत्र पनि अग्रसर भइरहेको छ । जलविद्युत् परियोजना निर्माणका लागि ठूलो रकमको आवश्यकता पर्ने र प्रक्रियागत जटिलताहरूको सामना गर्नुपर्ने भएकाले यस क्षेत्रमा सानो लगानी आकर्षित हुन सकेको छैन ।
पर्यटन क्षेत्रमा अझै पनि नयाँ अवसरहरू उपलब्ध छन्, पर्यटनलाई विविधीकरण गरी नेपाललाई अन्तरराष्ट्रिय बजारमा थप बलियो बनाउन सक्ने सम्भावना प्रशस्त छन् ।
त्यसैगरी सौर्य ऊर्जा र वायु ऊर्जा पनि नेपालका लागि सम्भावनायुक्त क्षेत्र हुन् । तुलनात्मक रूपमा जलविद्युत्भन्दा सौर्य ऊर्जा सस्तो पर्ने र सजिलैसँग जडान गर्न सक्ने भएकाले पनि यस क्षेत्रमा सर्वसाधारणको आकर्षण बढिरहेको छ । सौर्य ऊर्जा नेपालमा व्यापक रूपमा प्रयोग गर्न सकिने क्षेत्र हो, किनकि नेपालमा वर्षभरि पर्याप्त मात्रामा घाम लाग्ने गर्छ । यस क्षेत्रको विकासका र विस्तारका लागि सरकारले विभिन्न योजना सार्वजनिक गरेको छ । वातावरणमैत्री यस प्रविधिको प्रवर्द्धनमा निजीक्षेत्र र विभिन्न आईएनजीओहरूले समेत सहयोग पुर्याउँदै आएकाले सौर्य ऊर्जा ग्रामीण क्षेत्रका मानिशहरूको जीवनस्तर सुधार्न सहयागी सिद्ध हुँदै आएको छ ।
कृषि र खाद्य प्रशोधन : नेपालको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको ठूलो अंश छ भने वर्तमान समयमा पनि ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषि पेशामै निर्भर छ । उन्नत बीउबिजनको अभाव, अपर्याप्त सिँचाइ, परम्परागत खेती प्रणाली, खेतीयोग्य जमीनको खण्डीकरण, लागत अनुपातको आम्दानी नहुनु, वैदेशिक रोजगारीप्रतिको मोहजस्ता कारणले कृषि उपजको उत्पादन बढ्न सकेको छैन । पछिल्लो समय ठूला उद्योगीहरू कृषि पेशामा आबद्ध हुने क्रम बढ्दै गएको छ । धान, मकै, गहुँ, दलहनजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादनका लागि प्रविधिको प्रयोगको माध्यमबाट व्यवसायीकरण गर्ने क्रम बढेको छ । कृषि उत्पादनसँग सम्बद्ध आधुनिक खाद्य उद्योगहरूको विस्तार भइरहेको छ । त्यसैगरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ भने उच्च मूल्य भएका अलैंची, चिया, कफीजस्ता खाद्य प्रशोधन उद्योगहरू स्थापना भइरहेका छन् । खाद्य प्रशोधन उद्योगले कृषिजन्य कच्चा पदार्थलाई मूल्य अभिवृद्धि गर्ने अवसर प्रदान गरी कृषिमा निर्भर जनसंख्याको आयस्तर बढाउन सहयोग पुर्याउनुका साथै रोजगारीका अवसरहरू पनि सृजना गर्छ ।
त्यसैगरी दुग्ध र दुग्धजन्य वस्तुको उत्पादनमा पनि आकर्षण बढेको छ । सरकारले दुग्ध जन्य वस्तुको निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेका कारणले केही उद्योगहरूले तेस्रो मुलुकमा घ्यू निर्यात गर्न प्रारम्भ गरेका छन् । नेपालको भौगोलिक वातावरण र हावापानीका कारण यहाँ उत्पादन हुने चिया र कफीको फरक स्वादले गर्दा तेस्रो मुलुकमा नेपाली चिया र कफीको माग पनि वृद्धि भइरहेको छ । यस्ता वस्तुको निर्यातबाट हुने आम्दानीले देशलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन सहयोग पुर्याउँछ । आगामी दिनमा परिवर्तित प्रविधिको प्रयोगलाई बढावा दिई उच्च गुणस्तरको बीउबिजन, सिँचाइको पर्याप्त व्यवस्था, प्राविधिक सहयोग उपलब्ध गराउन सरकारले यथेष्ट ध्यान दिन जरुरी छ ।
पर्यटन : नेपालको प्राकृतिक सौन्दर्य, विश्वका अग्ला हिमाल, पदमार्ग, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूले विश्वभरका पर्यटकलाई आकर्षित गरेको छ । सगरमाथा, अन्नपूर्ण, र लाङटाङजस्ता हिमालहरू पोखरा, चितवन र लुम्बिनी, जनकपुरजस्ता गन्तव्यले नेपाललाई विश्व पर्यटन नक्सामा स्थापित गरेको छ । पर्यटन विकासको सम्भावनालाई मध्यनजर गरी स्वदेशी तथा विदेशी लगानीमा ठूला ठूला चेनहोटेल, रिसोर्टहरू खुलेका छन । तथापि, पर्यटन क्षेत्रमा अझै पनि नयाँ अवसरहरू उपलब्ध छन्, पर्यटनलाई विविधीकरण गरी नेपाललाई अन्तरराष्ट्रिय बजारमा थप बलियो बनाउन सक्ने सम्भावना प्रशस्त छ ।
साहसिक पर्यटन, स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्ता विधाहरूमा लगानी गरेर पर्यटन उद्योगलाई विविधता प्रदान गर्न सकिन्छ । उदाहरणका लागि, नेपालको ग्रामीण भेगमा रहेको संस्कृति, परम्परा र जीवनशैलीलाई पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनाउन सकिन्छ । साहसिक खेल स्काई डाइभिङ, आइस स्केटिङ, बन्जी जम्प, राफ्टिङ, प्याराग्लाइडिङ, वन्यजन्तु सफारी जस्ता खेलमा थप पूर्वाधार विकास गर्न सकिन्छ । स्वास्थ्य पर्यटनको विकासका लागि हिमाली भेगमा योग, ध्यान र प्राकृतिक चिकित्सा केन्द्रहरू स्थापना गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले यस क्षेत्रमा पछिल्लो चरणमा लगानी वृद्धि भइरहेको छ । पर्यटनसँग सम्बद्ध व्यवसाय विकासको प्रचुर सम्भावना भएकाले यो क्षेत्र आगामी दिनमा उदय हुनेछ ।
नेपाली हस्तकलाका सामग्रीहरू, गलैंचा, बाँसको चोयाबाट निर्मित सामग्री, नेपाली कागज, उच्च भेगमा उत्पादन हुने मार्सी चामलजस्ता वस्तुको ब्रान्डिङ र प्रचारप्रसार गर्न सके लगानीका नयाँ क्षेत्र बन्न सक्छन् ।
स्वास्थ्य सामग्री उत्पादन उद्योग : दीर्घरोगको उपचार र औषधिका लागि समेत छिमेकी मुलुक वा तेस्रो मुलुक धाउनुपर्ने बाध्यता छ । हाम्रा स्वास्थ्य संस्थाहरू विशेष गरी विदेशी स्वास्थ्य सामग्रीमा निर्भर रहेको अवस्थाछ । केही उद्यमीहरू र निजी कम्पनीहरूले नयाँ उत्पादन लाइनहरू शुरू गर्दै छन्, जसमा औषधि उत्पादन, मेडिकल उपकरण र अस्पतालका सामग्रीहरू समावेश छन् । यदि यो प्रवृत्ति जारी रह्यो भने नेपालमा स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योगको उदय हुने सम्भावना प्रबल छ ।
अत्याधुनिक प्रविधि र आधुनिक मेशिनहरूको कमी, उत्पादन क्षमता र गुणस्तरमा चुनौती, स्वास्थ्य सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थको अभाव, अन्तरराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा, उत्पादन लागतजस्ता कारणले धेरै उद्योग परम्परागत विधिमा निर्भर छन् जसले गर्दा प्रतिस्पर्धात्मक क्षमताको विकास हुन सकेको छैन । स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योग नेपालमा विस्तारको चरणमा रहेकाले यसलाई प्रवर्द्धन गर्न प्रविधिमा लगानी, सहयोगी नीति र निजीक्षेत्रको संलग्नतामा वृद्धि गर्ने पक्षहरूमा ध्यान दिनु आवश्यक छ ।
स्वदेशी मौलिक उत्पादन : स्वदेशका केही मौलिक उत्पादनहरू जस्तै कृषि उत्पादन, हस्तकलाका सामग्रीहरूले नेपाली संस्कार, परम्परा र भौगोलिक विविधतालाई प्रतिबिम्बित गर्छन् । त्यस्ता वस्तुहरूको उत्पादन भई विदेश निर्यात भइरहेको भए तापनि तिनको विकास, विस्तार आशातीत रूपमा भएको छैन । पहाडी क्षेत्रमा पाइने भेडीको ऊनबाट बन्ने नेपाली पश्मिनाको अन्तरराष्ट्रिय बजारमा माग उच्च छ । प्राविधिक सुधार र ब्रान्डिङ गरी उच्च गुणस्तरका पश्मिनालाई विश्व बजारमा निर्यात गर्न सकिन्छ ।
भौगोलिक बनावट र वातावरणका कारण नेपाली चियापत्तीको स्वाद र गुणस्तर उत्कृष्ट मानिन्छ भने यहाँको अग्र्यानिक चियालाई विश्व बजारमा उच्च मूल्यमा विक्री गर्न सकिन्छ । हिमाली भेगमा उत्पादन हुने अग्र्यानिक मह विश्वमै प्रख्यात छ । अन्तरराष्ट्रिय बजारमा अग्र्यानिक महको माग उच्च भएकाले निर्यातको प्रबल सम्भावना छ । त्यसैगरी नेपाली हस्तकलाका सामग्रीहरू, गलैंचा, बाँसको चोयाबाट निर्मित सामग्री, नेपाली कागज, उच्च भेगमा उत्पादन हुने मार्सी चामलजस्ता वस्तुको ब्रान्डिङ र प्रचारप्रसार गर्न सके लगानीका नयाँ क्षेत्र बन्न सक्छन् ।
लेखक उद्योग संगठन मोरङका अध्यक्ष हुन् ।