काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशतका दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ ६ गतेदेखि २० गतेसम्म निष्कासन गरी असार ५ गते बाँडफाँट गरिएको हो । यीबाहेक बाँकी शेयरमध्ये ७० हजार ९१० कित्ता कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।
सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्कासनमा आउने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न पाउने व्यवस्था छ ।
निष्कासन मिति छिटोमा असार २२ गतेसम्मका लागि तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ३२ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ ।
आईपीओमा यसअघि मागभन्दा अधिक आवेदन पर्दै आएको अवस्थालाई लिएर अनुमान गर्दा कम्पनीको आईपीओ छिटो अवधि असार २२ गतेसम्म मात्र निष्कासनमा रहनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ ।
आवेदनका लागि भने विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि कम्पनीले इक्रा नेपालबाट रेटिङ्ग प्राप्त गरेको छ । इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको रहेको संकेत गर्छ ।
यस कम्पनीले गोरखा जिल्लामा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन तथा विक्री गरिरहेको छ । उक्त आयोजनाबाट २०७९ फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
गत आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्म यो कम्पनी १ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्म ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म भने कम्पनी १ करोड २८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । गत आर्थिक वर्षसम्मको वास्तविक वित्तीय विवरणअनुसार १ रुपैयाँ ५५ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।